सत्य, निष्पक्ष र विश्वसनीय

रास्वपा पर्साको सभापतिमा हरि पन्त निर्वाचित

न्युज डेस्क
२०८३ जेष्ठ २६, मंगलवार ०९:०२

वीरगंज, २६ जेठ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको प्रथम जिल्ला अधिवेशनबाट हरि पन्त पुनः सभापतिमा निर्वाचित भएका छन्। निर्वाचनअघि पार्टीमा प्रवेश गरेर सांसद बनेका नेताहरूको गठबन्धनलाई पराजित गर्दै पन्तले नेतृत्वमा निरन्तरता कायम गरेका हुन्।
सभापति पदका प्रत्याशी सुशील साह कानुलाई पराजित गर्दै पन्त विजयी भएका हुन्। सुशील साह कानुलाई सांसदहरू सुशील साह कानु, रामाकान्त चौरसिया र टेक बहादुर शाक्य को समर्थन रहेको बताइएको थियो।

निर्वाचन समितिका संयोजक नन्दन यादवका अनुसार पन्तले १६६ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी सुशीलकुमार कानुले ११८ मत प्राप्त गरे। पन्तले ४८ मतको फराकिलो अन्तरले जित हासिल गरेका हुन्।
अधिवेशनको निर्वाचन प्रक्रिया तिक्ततापूर्ण बने पनि मतदाताले पार्टीको संस्थापन पक्षप्रति विश्वास व्यक्त गरेको विश्लेषण गरिएको छ। पार्टी निर्माणमा लामो समयदेखि सक्रिय नेतृत्वलाई कार्यकर्ताले समर्थन गरेको परिणामले देखाएको नेताहरूको भनाइ छ।
उपसभापति पदमा पन्त समूहका दिलीपकुमार कुर्मी १६२ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी रंदीप श्रीवास्तवले ११४ मत प्राप्त गरे। सचिवमा सुदिशकुमार प्रजापति १६० मतसहित निर्वाचित हुँदा शिवकुमार साह ११६ मतमा सीमित भए। सहसचिव पदमा कृष्णा पासवान १४९ मत ल्याएर विजयी भइन् भने निरजकुमार साहले ११३ मत प्राप्त गरे।
सदस्य पदतर्फ तुलसा पौडेल अधिकारीले सर्वाधिक १६० मत प्राप्त गर्दै सबैभन्दा लोकप्रिय उम्मेदवारको रूपमा आफूलाई स्थापित गरिन्। सदस्यमा प्रियंका कुमारी कुर्मी, पूर्णबहादुर सापकोटा, कामोध्या चौधरी र शशीदेवी थरुनी पनि निर्वाचित भएका छन्।
निर्वाचन परिणामसँगै रास्वपा पर्साको नयाँ जिल्ला नेतृत्वमा संस्थापन पक्षको पूर्ण वर्चस्व स्थापित भएको छ। पर्साका चार निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा तेज शमशेर जबरा, क्षेत्र नम्बर २ मा फैयाज मियाँ, क्षेत्र नम्बर ३ मा प्रदीप जसवाल र क्षेत्र नम्बर ४ मा जितेन्द्र मिश्र क्षेत्रीय संयोजकमा निर्वाचित भएका छन्।
नवनिर्वाचित सभापति हरि पन्त ले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै रास्वपा पर्साको प्रथम ऐतिहासिक जिल्ला अधिवेशनबाट ४८ मतको अन्तरले सभापतिमा निर्वाचित भएको उल्लेख गरेका छन्। उनले पार्टीलाई थप सुदृढ र संगठित बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?