सत्य, निष्पक्ष र विश्वसनीय

नारायणहिटी हत्याकाण्डबारे छानबिन गर्ने गृहमन्त्रीको निर्णय

न्युज डेस्क
२०८३ जेष्ठ २६, मंगलवार २१:२२

काठमाडौं, २६ जेठ
शंकास्पद सम्पत्ति छानबिनमा परेर राजीनामा दिएपछि पुन गृहमन्त्रीमा फर्किएका सुधन गुरुङले गृहमन्त्रीको दोस्रो कार्यकाल सुरु गर्दै २०५८ जेठ १९ गते नारायणहिटीमा भएको राजपरिवारको हत्या सम्बन्धी पुन अनुसन्धान गर्ने निर्णय गरेका छन्। शपथग्रहणपछि मन्त्रालयमा पुगेर गृहमन्त्रीको दोस्रो कार्यकाल सुरु गर्दै उनले सार्वजनिक गरेको चार निर्णयमा जेठ १९ को घटनाबारे छानबिन गर्ने समेत उल्लेख छ।

उनले निर्णयहरू सार्वजनिक गर्दै जेठ १९ गते नारायणहिटी दरबारमा भएको हत्याकाण्डबारे यस अगाडिको प्रतिवेदन अध्ययन गरेर थप अध्ययन गर्न समिति गठन गर्ने निर्णय भएको सार्वजनिक गरे।

जेठ १९ मा भएको घटनामा तत्कालीन राजा वीरेन्द्र शाहसहित उनको परिवारका सदस्यहरू मारिएका थिए। यसबारे छानबिन गर्न तत्कालीन सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा बनेको समितिले घटनामा तत्कालीन युवराज दीपेन्द्र शाह संलग्न रहेको दाबीसहितको प्रतिवेदन सार्वजनिक गरेको थियो। विभिन्न सरकारले नारायणहिटी घटनाबारे छानबिन गर्ने दाबी गरे पनि औपचारिक निर्णय भएको थिएन। रानाभाट नेतृत्वको छानबिनपछि सरकारले तहबाट पून अनुसन्धान गर्नेबारे भएको यो पहिलो निर्णय हो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?