मन्त्रीसन्त्री हुन्न भन्दै आएका महावीर भए नवप्रवर्तन मन्त्री
काठमाडौं , २६ जेठ
फागुन २१ को निर्वाचनबाट स्वतन्त्र सांसदमा निर्वाचित भएपछि महावीर पुनले सबैभन्दा धेरै उत्तर दिनु परेको प्रश्न होला- मन्त्री हुने कि नहुने। जति पटक उनीमाथि प्रश्न सोधियो उनले भनिरहे- “हुन्न के म मन्त्रीसन्त्री।”
सुशीला कार्की नेतृत्वमा सरकार बनेपछि पनि उनले निरन्तर मन्त्री नबन्ने दाबी गरिरहे। अन्तमा शिक्षा तथा विज्ञान मन्त्री भए। कार्की नेतृत्वको सरकारमा रहेकाहरू एकपछि अर्को गर्दै चुनावमा जाँदा अन्तिम समयसम्म उनी फागुन २१ को निर्वाचनमा उम्मेदवार नहुने दाबी गरिरहे।
तर अन्तमा सबैलाई सर्प्राइज दिँदै अन्तिम समयमा मन्त्री पदबाट राजीनामा दिए अनि म्याग्दी पुगेर स्वतन्त्र उम्मेदवारी दिए। निर्वाचन अवधिभर कहिले भगवान् त कहिले कसलाई के बाटो लगाइदिएको भन्दै भिडियो बनाइरहे।
अन्तमा फागुन २१ को निर्वाचनमा स्वतन्त्रबाट एक्लो सांसद भएका उनी त्यसपछि पनि निरन्तर आफू राजनीति गर्न नआएको र मन्त्री पनि नबन्ने दाबी गरिरहे। मंगलबार बिहानबाट मन्त्रीको रूपमा उनको नाम आउँदा कसैले केही नभनेको दाबी गरेका उनी प्रतिनिधि सभामा प्रतिपक्षीहरूले अवरोध गरेपछि लुसुक्क एक्लै निस्किएर दौरा सुरुवाल लगाएर शपथ लिन राष्ट्रपति कार्यालय पुगेर नव प्रवर्तन मन्त्रीको शपथ लिए।
राष्ट्रपति कार्यालयमा मंगलबार तीन बजे भनिएको शपथ चार हुँदै पाँच बजे पुगेको थियो। शपथ शुरू हुँदा झमझम पानी परिरहेको थियो। शपथका लागि गृहमन्त्रीका रूपमा सुधन गुरुङ र विज्ञान तथा नवप्रवर्तन मन्त्रीका रूपमा पुनको नाम बोलाइएपछि दुवै एकै छाता ओढेर शपथ लिन गएका थिए।
सँगै शपथ लिएका उनीहरूले सामूहिक शुभकामना पनि सँगै लिए। जब मन्त्रीको परिवारसहित तस्बिर लिन पहिला सुधनको नाम लिइयो, दुवैसँगै उभिएर तस्बिर खिचेर निस्किएका थिए।
वर्तमान सरकारमा सुधनको यो दोस्रो प्रवेश हो। पहिलो पटकमै गृहमन्त्री भएका उनी सम्पत्तिको स्रोत र दीपक भट्टसँगको शंकास्पद सम्बन्धको विवादमा राजीनामा दिन बाध्य भएका थिए।
समितिले प्रतिवेदन बुझायो। प्रतिवेदनका विवादित निष्कर्ष चुहिए पनि सरकारले प्रतिवेदन सार्वजनिक गरेको छैन।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




