पर्सा चेस च्याम्पियनसिप–२०८३ सम्पन्न, करिब १०० खेलाडीको सहभागिता
वीरगञ्ज, २१ असार
युथलिङ्क वीरगञ्जको आयोजना तथा पर्सा जिल्ला बुद्धीचाल संघको सहकार्यमा आयोजित दुईदिने पर्सा चेस च्याम्पियनसिप–२०८३ आइतबार सम्पन्न भएको छ।
वीरगञ्जस्थित बीपीसी कलेजको सभाहलमा सम्पन्न प्रतियोगितामा पर्सा जिल्लाका विभिन्न विद्यालय तथा क्लबबाट करिब १०० जना खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
प्रतियोगिताको समापन समारोह पर्सा जिल्ला बुद्धीचाल संघका अध्यक्ष शुल्भ केसीको प्रमुख आतिथ्य तथा युथलिङ्क वीरगञ्जका अध्यक्ष अभिषेक सरार्फको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा मुनलाइट स्कुलका संस्थापक श्याम केसी, मानवसेवा आश्रमका देवेश गुप्ता, ओम झा, सञ्चारकर्मी अभिलाष गुप्ता, अजित भुजेल, उज्ज्वल घिमिरे, युथलिङ्क वीरगञ्जका उपाध्यक्ष रोशनकुमार सोनार तथा बीपीसी कलेजका बासु कर्णलगायतको उपस्थिति रहेको थियो।
प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर सौगात गिरी तथा प्रमुख निर्णायक (चिफ आर्बिटर) काठमाडौंबाट आउनुभएका मिसन बास्कोटाले प्रतियोगिता सञ्चालन गरेका थिए। प्रतियोगिता स्विस लिग प्रणालीअनुसार सात चरणमा खेलाइएको थियो। पहिलो दिन चार तथा दोस्रो दिन तीन चरणका खेल सम्पन्न भएका थिए।
प्रतियोगिताको बालकतर्फ मुनलाइट स्कुलका ब्राह्मण विश्वास झा प्रथम, रिसब कुमार द्वितीय र संस्कार आर्याल तृतीय भए। बालिकातर्फ मुनलाइट स्कुलकी सनम श्रेष्ठ प्रथम, आफ्रिन खातुन द्वितीय तथा दिभ्यान्सी सिकारिया तृतीय हुन सफल भइन्।
विजेता खेलाडीहरूलाई प्रमाणपत्र, शिल्ड तथा सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य पर्सा जिल्लामा बुद्धीचाल खेलको विकास, नयाँ प्रतिभाको पहिचान तथा खेलाडीहरूलाई प्रतिस्पर्धात्मक वातावरण उपलब्ध गराउनु हो। साथै, उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुन प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरिएको छ।
आयोजकले यस प्रतियोगिताले पर्सा जिल्लामा विद्यार्थी तथा युवामाझ बुद्धीचाल खेलप्रतिको आकर्षण बढाउन महत्त्वपूर्ण योगदान पुर्याएको जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




