सत्य, निष्पक्ष र विश्वसनीय

परवानीपुर गाउँपालिकाद्वारा ३६ करोड ६३ लाखको बजेट सार्वजनिक, शिक्षा र पूर्वाधारलाई उच्च प्राथमिकता

न्युज डेस्क
२०८३ असार ८, सोमबार २१:३४

बारा, ८ असार
बाराको परवानीपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ३६ करोड ६३ लाख १० हजार रुपैयाँ बराबरको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार सम्पन्न गाउँपालिकाको १८औँ गाउँसभाले विकास निर्माण, प्रभावकारी सेवा प्रवाह तथा आर्थिक समृद्धिलाई केन्द्रमा राख्दै आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट पारित गरेको हो।

गाउँसभामा प्रस्तुत बजेटमध्ये करिब ६० प्रतिशत चालु खर्च तथा ४० प्रतिशत पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ। गाउँपालिका उपाध्यक्षको आदेशानुसार प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, पूर्वाधार विकास, भूमि प्रशासन, सरसफाइ, आर्थिक विकास तथा प्रभावकारी सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखिएको जानकारी दिए।

नीति तथा कार्यक्रमअनुसार गाउँपालिकाभित्र निर्माणाधीन विद्यालय भवनहरू सम्पन्न गरिनेछन्। साथै करदाता सेवा गाउँपालिकाबाटै उपलब्ध गराइने, भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाट सञ्चालन गरिने तथा वडा नं. १ मा नदी नियन्त्रणको कार्य सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ।

त्यसैगरी, लिपनीमालस्थित गुर्दी बजार क्षेत्रमा सडकको उत्तर–दक्षिण भागमा भवन निर्माण सम्पन्न गर्ने, वडा नं. ५ बहुअरीमा मुख्य सडक तथा नाला निर्माण गर्ने, थप विद्यालय भवन तथा बाल विकास केन्द्र निर्माणलाई समेत प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ।

गाउँसभाले नियमित सरसफाइ तथा फोहोरमैला व्यवस्थापन कार्यक्रम सञ्चालन गर्ने नीति पनि स्वीकृत गरेको छ। नवप्रवर्तनमा आधारित आर्थिक विकास कार्यक्रममार्फत स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य लिइएको छ।

गाउँसभा अधिवेशनलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नागरिक समाज तथा स्थानीयवासीबीच सहकार्य आवश्यक रहेको बताए। उनले सुशासन तथा नागरिकलाई सहज र गुणस्तरीय सेवा प्रवाहलाई केन्द्रमा राखेर बजेट तथा कार्यक्रम ल्याइएको उल्लेख गरे।

अधिवेशनमा उपाध्यक्ष सुगान्धी देवी कनुइन, प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियार, समाजसेवी नेता उमेश साह कानु, जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?