सत्य, निष्पक्ष र विश्वसनीय

नारायणी अस्पतालमा बिरामीको अत्यधिक चाप,सेवा व्यवस्थापन चुनौतीपूर्ण

न्युज डेस्क
२०८३ जेष्ठ ३०, शनिबार २०:५७

वीरगंज , ३० जेठ
नारायणी अस्पतालमा पछिल्लो समय बिरामीको चाप उल्लेखनीयरूपमा बढेसँगै स्वास्थ्य सेवा व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ । सीमित पूर्वाधार र जनशक्तिबीच लामो समयदेखि सेवा दिंदै आएको अस्पतालमा हाल बिरामी सङ्ख्या तीव्ररूपमा वृद्धि भएपछि स्वास्थ्य सेवामा अतिरिक्त दबाब परेको छ ।

अस्पताल स्रोतका अनुसार निजी अस्पतालहरूमा सरकारले ओपिडीबाहेकमा स्वास्थ्य बीमा सेवा बन्द गरेपछि धेरै बिरामी सरकारी अस्पतालतर्फ आकर्षित भएका छन् । यससँगै पछिल्ला दिनमा बढ्दो गर्मीका कारण पनि स्वास्थ्य समस्या लिएर आउने बिरामीको सङ्ख्या उल्लेख्यरूपमा बढेको छ । परिणामस्वरूप आपत्कालीन कक्षदेखि सामान्य वार्डसम्ममा बिरामीको अत्यधिक चाप देखिन थालेको छ ।

अस्पतालका प्रवक्ता डा उदयनारायण सिंहका अनुसार उपलब्ध सीमित स्रोतसाधनका बावजूद चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले निरन्तर सेवा दिइरहेका छन् । तर आवश्यक पूर्वाधार र पर्याप्त जनशक्ति नहुँदा स्वास्थ्यकर्मीहरू शारीरिक तथा मानसिक दुवै दबाबमा काम गर्न बाध्य भएको उनले बताए । उनका अनुसार अस्पतालमा बढ्दो चापले सेवा प्रवाहको गुणस्तर र व्यवस्थापन दुवैमा चुनौती थपिएको छ ।

डा सिंहले चिकित्सक तथा कर्मचारीको मनोबल उच्च राख्नुपर्ने समयमा केही सञ्चारमाध्यम र जनप्रतिनिधिबाट आलोचनात्मक वातावरण सिर्जना भइरहेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे । अस्पताल प्रशासनले समस्या समाधानका लागि सबै सरोकारवाला पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएको छ ।

हाल अस्पतालको आपत्कालीन कक्षमा बिरामीको अत्यधिक चापका कारण उपचार व्यवस्थापन कठिन बनेको छ । बिरामी राख्ने पर्याप्त शया उपलब्ध नहुँदा केही बिरामीलाई भुइँमा राखेर वा वैकल्पिक व्यवस्थामार्फत उपचार गर्नुपर्ने अवस्थासमेत आएको अस्पताल स्रोतले जनाएको छ । अन्य वार्डहरूमा पनि शया अभाव देखिन थालेको छ, जसले सेवा प्रवाहमा थप जटिलता उत्पन्न गरेको छ ।

परिस्थितिमा स्थानीयवासी तथा सेवाग्राहीहरूले तत्काल जनशक्ति वृद्धि, शग्या विस्तार, आवश्यक उपकरणको आपूर्ति र दीर्घकालीन पूर्वाधार सुधारको माग गरेका छन् । उनीहरूले सरकारी अस्पतालप्रति बढ्दो निर्भरता अनुसार सेवा क्षमता विस्तार अपरिहार्य भएको बताएका छन् ।

विशेषज्ञहरूका अनुसार सरकारी अस्पतालमा बढ्दो बिरामी चापलाई व्यवस्थापन गर्न योजनाबद्ध लगानी, संरचनागत सुधार र दक्ष जनशक्तिको विस्तार आवश्यक छ । अन्यथा भविष्यमा सेवा प्रवाह अझ जटिल बन्न सक्ने चेतावनीसमेत दिइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?