सत्य, निष्पक्ष र विश्वसनीय

आमसञ्चार प्राधिकरणद्वारा पत्रकार सम्मान, पुरस्कार तथा छात्रवृत्ति कार्यविधिबारे छलफल

न्युज डेस्क
२०८३ जेष्ठ ३१, आईतवार १५:५०

दिपेन्द्र बि. सी.

जनकपुरधाम , ३१ जेठ
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गतको आमसञ्चार प्राधिकरणले पत्रकारिता क्षेत्रको प्रवर्द्धन तथा पत्रकारहरूको क्षमता अभिवृद्धिलाई लक्षित गर्दै जनकपुरधाममा विशेष कार्यक्रम आयोजना गरेको छ।

जनकपुरधामस्थित अन्जनी सुइट्समा सम्पन्न कार्यक्रममा पत्रकारिता पुरस्कार, छात्रवृत्ति तथा प्रोत्साहनसम्बन्धी कार्यविधिबारे छलफल गर्नुका साथै नेपाल पत्रकार महासंघअन्तर्गतका वर्तमान तथा पूर्व शाखा सभापतिहरूलाई सम्मान गरिएको हो।

आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्काको अध्यक्षता तथा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै मन्त्री महतोले पत्रकारिता पेसा लोकतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रलाई थप मर्यादित, जिम्मेवार र व्यवस्थित बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। पत्रकारहरूको हकहित संरक्षण, पेशागत सुरक्षा र क्षमता विकासका लागि सरकारले आवश्यक सहयोग गर्दै जाने उहाँको भनाइ थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक के.सी. लामिछाने, केन्द्रीय सदस्य राजेश कर्ण, मिडिया काउन्सिल मधेश प्रदेशकी कार्यवाहक अध्यक्ष बन्दना झा, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जारा तथा पूर्व अध्यक्ष दीपेन्द्र चौहानलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। वक्ताहरूले पत्रकारिताको गुणस्तर अभिवृद्धि, पत्रकारहरूको पेशागत सशक्तीकरण तथा सञ्चार क्षेत्रको विकासका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए।

मधेश प्रदेशका आठवटै जिल्लाका पत्रकार महासंघका वर्तमान तथा पूर्व सभापतिहरूको सहभागिता रहेको कार्यक्रममा मन्त्री महतोले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो। सम्मानित हुनेहरूमा नेपाल पत्रकार महासंघ पर्सा शाखाका वर्तमान अध्यक्ष ओमप्रकाश खनाल तथा पूर्व अध्यक्षहरू शंकर खतिवडा, शत्रुघ्न नेपाल, दीपेन्द्र चौहान, के.सी. लामिछाने र श्याम बञ्जारा रहेका छन्।

कार्यक्रममा आमसञ्चार प्राधिकरणले तयार पारेको पत्रकारिता पुरस्कार, छात्रवृत्ति तथा प्रोत्साहनसम्बन्धी नयाँ कार्यविधिमाथि समेत सरोकारवालाहरूबीच गहन छलफल भएको थियो। कार्यक्रममा प्राप्त सुझावहरूलाई कार्यविधिमा समेटिने विश्वास व्यक्त गरिएको थियो।

कार्यक्रमको सञ्चालन आमसञ्चार प्राधिकरणका प्रशासकीय अधिकृत सन्तोष साहले गर्नुभएको थियो। आयोजकका अनुसार पत्रकारिता क्षेत्रको विकास, पत्रकारहरूको क्षमता अभिवृद्धि तथा पेशागत सम्मानको वातावरण निर्माण गर्न यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?