सत्य, निष्पक्ष र विश्वसनीय

महन्थ ठाकुरको आरोप- सरकार बाह्य मुलुकको हितमा काम गरिरहेको छ

न्युज डेस्क
२०८३ असार ९, मंगलवार १५:५२

काठमाडौँ, ९ असार
जनता समाजवादी पार्टी (जसपा), नेपालका सांसद महन्थ ठाकुरले वर्तमान सरकारले मुलुकको स्वतन्त्रतामाथि नै गम्भीर असर पार्ने खालका गतिविधि गरिरहेको आरोप लगाएका छन्। सरकारको प्राथमिकतामा देश र जनता नरहेको भन्दै उनले वर्तमान शासन व्यवस्थामाथि नै प्रश्न उठाएका हुन्।

सङ्घीय संसद् राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको मङ्गलवार बसेको बैठकमा बोल्दै सांसद ठाकुरले सरकारले नेपाली जनताको नभई बाह्य मुलुकको हित अनुकूल काम गरिरहेको जिकिर गरे। सरकारकै अदूरदर्शी नीतिका कारण मुलुक वैदेशिक शक्तिको कब्जामा गइरहेको उनको बुझाइ थियो।

बैठकमा आफ्नो धारणा राख्दै सांसद ठाकुरले राज्य संयन्त्र निकम्मा बन्दै गएको र जनताका अधिकारहरू कटौती भइरहेको बताए।

“जुन राज्य छ, यो नन-फङ्सनिङ (काम नगर्ने) हो। जनताको हातमा त केही छैन, सबै सकियो। हाम्रो स्वतन्त्रतामाथि नै असर परिरहेको छ, किनकि बाहिरका मानिसहरूले सबै चिज कब्जा गरिहाले। र उनीहरूको चित्त बुझाउने गरी सारा काम भइरहेको छ,” उनले आक्रोश पोख्दै भने, “हामी त त्यसमा कहीँ पनि पर्दै पर्दैनौँ। हामी यो देशका नागरिक हौँ, हाम्रो चित्त बुझाउने र भलाइ हुने किसिमको काम हाम्रो सरकारले गर्नुपर्ने हो। यो त हाम्रो सरकार नै होइन, बाहिरवालाको सरकार हो। बाहिरवालाले त यो सरकारलाई वाहवाही दिइरहेकै छन् नि।”

सांसद ठाकुरले सरकारको आत्मसमर्पणवादी प्रवृत्तिका कारण देशको आन्तरिक मामिलामा विदेशी हस्तक्षेप बढेको र यसले नेपालको सार्वभौमिकतालाई कमजोर बनाउँदै लगेको तर्फ सचेत गराए। सरकारका काम-कारबाहीप्रति विदेशी शक्तिहरू खुसी हुनु तर स्वदेशी नागरिक मारमा पर्नुले नै वर्तमान सरकार कसको इशारामा चलिरहेको छ भन्ने स्पष्ट हुने उनको तर्क थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?