सत्य, निष्पक्ष र विश्वसनीय

प्रा.डा. दीपकबहादुर शाक्य जया मल्टिपल क्याम्पसद्वारा सम्मानित

न्युज डेस्क
२०८३ असार २८, आईतवार २०:४५

काठमाडौं, २८ असार
गोकर्णेश्वर–८, माकलबारीस्थित जया मल्टिपल क्याम्पसले मधेश विश्वविद्यालयका उपकुलपति तथा शिक्षाविद् प्रा.डा. दीपकबहादुर शाक्यलाई उच्च शिक्षाको विकास तथा शैक्षिक क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै ‘लेटर अफ एप्रिसिएसन’सहित सम्मान गरेको छ।

शनिबार काठमाडौंमा आयोजित कक्षा १२ का विद्यार्थीहरूको सम्मान तथा बिदाइ कार्यक्रममा क्याम्पसले प्रा.डा. शाक्यको दूरदर्शी नेतृत्व, शैक्षिक समर्पण तथा गुणस्तरीय, समावेशी र पहुँचयोग्य उच्च शिक्षाको प्रवर्द्धनमा खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै सम्मान प्रदान गरेको हो।

विश्वविद्यालयको सुदृढीकरण, अनुसन्धान, नवप्रवर्तन, सुशासन तथा व्यवहारिक शिक्षाको विकासमा उहाँले पुर्‍याएको योगदान प्रेरणादायी रहेको उल्लेख गर्दै क्याम्पस प्रमुख भवानी पौडेल, जया देवकोटा फाउन्डेशनका अध्यक्ष जगन्नाथ देवकोटा तथा कार्यक्रमका अध्यक्ष देवी घिमिरेले दोसल्ला र सम्मानपत्रसहित उहाँलाई सम्मान गर्नुभयो।

कार्यक्रमका वक्ताहरूले प्रा.डा. शाक्यको नेतृत्वले नेपालमा उच्च शिक्षाको गुणस्तर अभिवृद्धि तथा शैक्षिक संस्थाहरूको सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै भविष्यमा पनि मधेश विश्वविद्यालयलाई थप प्रगतिशील, नवप्रवर्तनमुखी तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी विश्वविद्यालयका रूपमा स्थापित गर्न उहाँ सफल हुने विश्वास व्यक्त गरे।

क्याम्पसका प्राचार्य भवानी पौडेलले शिक्षा क्षेत्रमा लामो समयदेखि समर्पित व्यक्तित्वलाई सम्मान गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो। सम्मान ग्रहणपछि प्रा.डा. शाक्यले क्याम्पस परिवारप्रति आभार व्यक्त गर्दै विद्यार्थीहरूलाई शिक्षा, अनुसन्धान र नवप्रवर्तनमार्फत उज्ज्वल भविष्य निर्माण गर्न प्रेरित गर्नुभयो।

प्रा.डा. दीपकबहादुर शाक्य नेपालका अनुभवी शिक्षाविद्हरूमध्ये एक मानिनुहुन्छ। उहाँले विशेषगरी वीरगञ्जलाई शिक्षाको केन्द्र तथा ‘एजुकेसन हब’का रूपमा विकास गर्ने लक्ष्यसहित आफ्नो शैक्षिक अभियान अघि बढाउनुभएको थियो।

उहाँकै नेतृत्व र पहलमा वि.सं. २०५७ सालमा वीरगञ्ज पब्लिक कलेज स्थापना भएको थियो। प्रारम्भिक चरणमा वीरगञ्जस्थित कन्या माध्यमिक विद्यालयको भवन भाडामा लिएर करिब १०–१२ जना विद्यार्थीबाट सुरु भएको कलेज अहिले मधेश प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एकका रूपमा स्थापित भएको छ।

हाल कलेज आफ्नै अत्याधुनिक भवनबाट सञ्चालन भइरहेको छ, जहाँ तीन हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। शैक्षिक गुणस्तर, आधुनिक शिक्षण पद्धति, अनुशासन तथा उत्कृष्ट नतिजाका कारण कलेजले मधेश प्रदेशसँगै राष्ट्रिय स्तरमा पनि आफ्नो छुट्टै पहिचान बनाएको छ।

दशकौँ लामो शैक्षिक अनुभव, नेतृत्व क्षमता तथा संस्थागत विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका प्रा.डा. शाक्य हाल मधेश विश्वविद्यालयका प्रथम उपकुलपतिका रूपमा कार्यरत हुनुहुन्छ। उहाँको नेतृत्वमा विश्वविद्यालयले आफ्नो संस्थागत आधार सुदृढ गर्दै अघि बढिरहेको छ।

विश्वविद्यालयको पठनपाठन सञ्चालनका लागि वीरगञ्जस्थित नेपाल ट्रेडिङ लिमिटेडको पुरानो भवनलाई मर्मत तथा व्यवस्थापन गरी शैक्षिक गतिविधि सञ्चालन गरिएको छ। सीमित स्रोतसाधन र पूर्वाधारका बाबजुद विश्वविद्यालयलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै गुणस्तरीय उच्च शिक्षाको नयाँ केन्द्रका रूपमा विकास गर्ने प्रयास जारी छ।

शिक्षा, अनुसन्धान, नवप्रवर्तन र व्यवहारिक शिक्षालाई प्राथमिकता दिँदै प्रा.डा. शाक्यले मधेश प्रदेशमा उच्च शिक्षाको नयाँ सम्भावना सिर्जना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएको छ। उहाँको योगदानले वीरगञ्ज मात्र नभई समग्र मधेश प्रदेशको शैक्षिक विकासलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?