सत्य, निष्पक्ष र विश्वसनीय

पूँजी बजार सुधारको माग गर्दै लगानीकर्ताको सेबोन घेराउ

न्युज डेस्क
२०८३ असार ३०, मंगलवार ११:३३

काठमाडौं, ३० असार
नेपालको पूँजी बजारमा देखिएको निरन्तर गिरावटको विरोधमा सेयर लगानीकर्ताहरू आन्दोलनमा उत्रिएका छन्। पूर्वघोषित कार्यक्रमअनुसार सेयर लगानीकर्ता तथा अभियन्ता तिलक कोइरालाको नेतृत्वमा मंगलबार बिहान लगानीकर्ताहरू नेपाल धितोपत्र बोर्ड (सेबोन) को केन्द्रीय कार्यालय पुगेका हुन्।

आन्दोलनकारीहरूले सेबोन घेराउ गर्दै पूँजी बजार सुधारका लागि तत्काल नीतिगत हस्तक्षेप गर्न सरकार र नियामक निकायसँग माग गरेका छन्। बजारमा लगानीकर्ताको विश्वास पुनःस्थापित गर्न, लगानीकर्तामैत्री नीति लागू गर्न तथा पूँजी बजार सुधारका लागि शीघ्र निर्णय गर्नुपर्ने उनीहरूको मुख्य माग रहेको छ।

यसअघि आन्दोलनकारीहरूले सेबोनमा तालाबन्दी गर्ने चेतावनी दिएका कारण बोर्ड परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रदर्शनलाई मध्यनजर गर्दै सेबोनको मुख्य प्रवेशद्वार बन्द गरिएको छ भने परिसरभित्र र बाहिर ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको छ। सम्भावित अप्रिय घटना हुन नदिन सुरक्षा सतर्कता पनि बढाइएको छ।

आन्दोलनका संयोजक तिलक कोइरालाले यसअघि सामाजिक सञ्जालमार्फत सम्पूर्ण लगानीकर्तालाई बिहान ९ बजे सेबोन कार्यालयमा उपस्थित हुन आह्वान गरेका थिए। उनका अनुसार बजार सुधारका लागि सम्बन्धित निकायले प्रभावकारी कदम नचालेपछि आन्दोलनको विकल्प रोज्नुपरेको हो।

आन्दोलनकारीहरूले नेपालको पूँजी बजारमा देखिएको लगातारको गिरावट, लगानीकर्ताको सम्पत्तिमा आएको ठूलो ह्रास तथा सरकार र नियामक निकायको उदासीनताप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

सेबोनमा विरोध प्रदर्शनपछि आन्दोलनकारीहरू नेपाल स्टक ब्रोकर्स एसोसिएसनको कार्यालय तथा विभिन्न ब्रोकर कम्पनीका कार्यालयमा समेत पुगेर दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?