लिटिल एन्जल्स बोर्डिङ स्कुलमा जुनियर तहको स्पेलिङ प्रतियोगिता सम्पन्न
वीरगञ्ज–२४ ज्योतिनगरस्थित लिटिल एन्जल्स बोर्डिङ स्कुलमा आयोजित जुनियर तहको स्पेलिङ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्दै विद्यालयका पदाधिकारी।
वीरगञ्ज, ७ साउन
वीरगञ्ज महानगरपालिका–२४, ज्योतिनगरस्थित लिटिल एन्जल्स बोर्डिङ स्कुलमा अध्ययनरत जुनियर तहका विद्यार्थीहरूबीच स्पेलिङ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको थियो।
विद्यालयका प्रिन्सिपल सन्नी पाख्रिनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल पाख्रिनले विद्यालयले गुणस्तरीय शिक्षासँगै अतिरिक्त तथा सह–पाठ्यक्रम गतिविधिलाई पनि समान प्राथमिकता दिँदै आएको बताउनुभयो। यस्ता प्रतियोगिताले विद्यार्थीहरूको भाषा ज्ञान, स्मरणशक्ति, आत्मविश्वास तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।
उहाँले स्पेलिङ प्रतियोगितामार्फत विद्यार्थीहरूलाई सक्षम, सिर्जनशील र आत्मविश्वासी बनाउन विद्यालयले विशेष जोड दिएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता शैक्षिक तथा सह–पाठ्यक्रम गतिविधिलाई निरन्तरता दिइने जानकारी दिनुभयो।
विद्यालयले विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै अध्ययनसँगै व्यवहारिक सीप र व्यक्तित्व विकासमा समेत जोड दिँदै आएको जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





