डीएसपी चक्र मल्लद्वारा मानवसेवा आश्रम सिर्सियाको अवलोकन, भोजन सेवामा सहयोग
मानवसेवा आश्रम (सिर्सिया शाखा) को अवलोकन गर्दै आश्रममा आश्रित व्यक्तिहरूसँग भेटघाट तथा बेलुकाको भोजन सेवामा सहयोग गर्दै जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्र मल्ल।
वीरगञ्ज, ७ साउन
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्र मल्लले वीरगञ्ज महानगरपालिका–२५ सिर्सियास्थित मानवसेवा आश्रम (सिर्सिया शाखा) को अवलोकन गर्नुका साथै आश्रममा आश्रित व्यक्तिहरूका लागि बेलुकाको भोजन सेवामा सहयोग गर्नुभएको छ।
मानवसेवा आश्रमका अनुसार डीएसपी मल्लले आश्रमको निरीक्षण गर्दै त्यहाँ सञ्चालित विभिन्न मानवीय सेवा, संरक्षण तथा पुनःस्थापनासम्बन्धी गतिविधिबारे जानकारी लिनुभएको थियो। उहाँले सडक आश्रित, असहाय, बेवारिसे तथा परिवारबाट विच्छेद भएका नागरिकहरूको संरक्षण र सम्मानजनक जीवनयापनका लागि आश्रमले निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गर्नुभयो।


अवलोकनका क्रममा डीएसपी मल्लले आश्रममा आश्रित व्यक्तिहरूसँग आत्मीय भेटघाट गर्दै उनीहरूको अवस्था बुझ्नुका साथै बेलुकाको भोजन सेवामा सहभागी भई सहयोग गर्नुभयो। समाजका सबै वर्गको सहकार्यबाट यस्ता मानवीय अभियान अझ प्रभावकारी बन्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।
मानवसेवा आश्रमका अनुसार डीएसपी मल्लले आगामी दिनमा जिल्ला प्रहरी कार्यालय पर्साको तर्फबाट आवश्यक सहयोग, समन्वय तथा सहकार्यका लागि आफू सदैव सकारात्मक रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
आश्रमले डीएसपी मल्लको आत्मीयता, सद्भाव तथा भोजन सेवामा पुर्याएको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै यस्ता सामाजिक र मानवीय सहकार्यले सेवाको भावनालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।
मानवसेवा आश्रमले समाजका असहाय, बेवारिसे तथा सडक आश्रित नागरिकहरूको उद्धार, संरक्षण, उपचार, पुनःस्थापना तथा सम्मानजनक जीवनयापनका लागि निरन्तर सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।
उक्त कार्यक्रममा मानवसेवा आश्रमका देवेश गुप्ता, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई, समाजसेवी ओम झा, प्रधुमन सरार्फलगायतको विशेष उपस्थिति रहेको थियो।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





