५८ जनाले गरे रक्तदान, ‘रक्तदानले मानवता बलियो बनाउँछ’
वीरगञ्ज, २३ साउन
राउन्ड टेबल नेपाल वीरगञ्ज र रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको संयुक्त आयोजनामा वीरगञ्जमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। शनिबार घण्टाघरस्थित स्व. तिवारी बाबाको सालिक परिसरमा आयोजित कार्यक्रममा ५८ जनाले रक्तदान गरेका छन्।
रक्तदान कार्यक्रममा देवनाथ राय, सगुनकुमार सिंह, अफरोज अन्सारी, कृष्णमोहन यादव, सञ्जोग थापा, शक्ति श्रेष्ठ, सहिम राउत गद्दी, राहुल महतो लगायतले रक्तदान गरेका थिए।
कार्यक्रम राउन्ड टेबल नेपालका अध्यक्ष सुमित मित्तल र रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका अध्यक्ष रामबिनय यादवको संयुक्त अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, दिनानाथ रौनियार, रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका अध्यक्ष राजकिशोर प्रसाद, मोहित राजपाल, समाजसेवी राजेन्द्र भट्टराईलगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा राउन्ड टेबल नेपालका अध्यक्ष सुमित मित्तलले राउन्ड टेबलले विशुद्ध पुण्य तथा मानवीय जीवन बचाउने उद्देश्यले निरन्तर सामाजिक सेवा गर्दै आएको बताए। वीरगञ्जमा रगतको अभाव भएको जानकारी पाएपछि रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए।
“रक्तदान गर्दा दातालाई कुनै घाटा हुँदैन, तर ग्रहण गर्ने व्यक्तिका लागि यसको ठूलो महत्व हुन्छ। कतिपय अवस्थामा रगतले कसैको जीवन नै बचाउन सक्छ,” मित्तलले भने। उनले सबैलाई प्रत्येक तीन महिनामा रक्तदान गरी कसैको जीवन जोगाउन र मानवता बलियो बनाउन आग्रह गरे।
त्यस्तै, नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्जका अध्यक्ष कमल चौगाईंले पछिल्लो समय वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुँदा नारायणी अस्पताललगायत विभिन्न अस्पतालमा उपचाररत बिरामीलाई समस्या भइरहेको बताए।
रक्त अभावको विषम परिस्थितिमा रक्तदान कार्यक्रम आयोजना गरेर मानवताको सेवा गरेको भन्दै उनले राउन्ड टेबल नेपाल वीरगञ्ज र रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिस परिवारलाई धन्यवाद दिए। आफ्नै शरीरको अमूल्य अंश रगत दान गरेर कसैको जीवन बचाउने रक्तदाताहरू नै समाजका असल नायक भएको उल्लेख गर्दै चौगाईंले सबैलाई नियमित रक्तदान गर्न आग्रह गरे।
कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरवराज पाण्डेको नेतृत्वमा स्वयंसेवकहरूको टोलीले रक्तदाताहरूलाई रक्तदान गर्न सहजीकरण गरेको थियो।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





