चितवनमा १५ वर्षीया बालिका बलात्कृत, संलग्न आरोपी फरार
चितवनको भरतपुरस्थित रिसोर्टमा १५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा २८ वर्षीय युवकविरुद्ध जाहेरी दर्ता भएको छ। आरोपी फरार रहेको प्रहरीले जनाएको छ।
चितवन, ७ भदौ
चितवनको भरतपुर महानगरपालिकास्थित एक रिसोर्टमा १५ वर्षीया बालिकामाथि बलात्कार भएको आरोप लागेको छ। घटनामा संलग्न रहेको आरोपमा भरतपुर महानगरपालिका–७ निवासी २८ वर्षीय सन्देश भट्टविरुद्ध पीडित परिवारले जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका छन्।
जाहेरीअनुसार भट्टले बालिकालाई भरतपुर महानगरपालिका–४ स्थित मिसन सफल प्रालि नामक रिसोर्टमा लगेर बलात्कार गरेको आरोप छ। साउन ३१ गते भएको घटनाबारे प्रहरीले जाहेरी दर्ता गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी चन्द्र भुषण यादवले जानकारी दिए।

प्रहरीका अनुसार घटनाबारे प्राप्त जाहेरीका आधारमा अनुसन्धान भइरहेको छ। जाहेरीमा आरोपीले रिसोर्टको कोठा पहिले नै बुक गरी बालिकालाई फकाएर त्यहाँ लगेको र कोठामा पुगेपछि चुकुल लगाएर बलात्कार गरेको आरोप उल्लेख छ।
आरोपीको प्रतिकार गर्दै बालिका चुकुल खोलेर त्यहाँबाट भाग्न सफल भएको समेत जाहेरीमा उल्लेख गरिएको छ।
घटनापछि आरोपी भट्ट फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





