सत्य, निष्पक्ष र विश्वसनीय

वीरगञ्ज यातायात कार्यालयको चरम लापरबाही, नवीकरणका लागि बुझाइएका ड्राइभिङ लाइसेन्स फोहोरमा

न्युज डेस्क
२०८३ भाद्र ८, सोमबार १७:२५

वीरगञ्ज, ८ भदौ
वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालयमा नवीकरणका लागि संकलन गरिएका ड्राइभिङ लाइसेन्स कार्डहरू फोहोरमा फालिएको अवस्थामा भेटिएको भन्दै सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्वीरले कार्यालयको कार्यशैली र नागरिकका व्यक्तिगत विवरणको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।
नवीकरणका क्रममा संकलन गरिएका लाइसेन्स कार्डमा नागरिकको नाम, फोटो, लाइसेन्स नम्बरलगायत व्यक्तिगत पहिचानसँग सम्बन्धित महत्वपूर्ण विवरण हुन्छन्। यस्ता कागजातलाई सुरक्षित रूपमा व्यवस्थापन गर्नुपर्नेमा फोहोरमा फालिएको देखिनुले सम्बन्धित निकायको जिम्मेवारी र संवेदनशील कागजात व्यवस्थापन प्रणालीप्रति प्रश्न उठेको हो।
कार्डहरू अनधिकृत व्यक्तिको हातमा पुगेमा व्यक्तिगत विवरणको दुरुपयोग हुनसक्ने जोखिमसमेत रहन्छ। त्यसैले संकलन गरिएका पुराना वा प्रयोगमा नरहेका लाइसेन्स कार्ड कसरी व्यवस्थापन गरिएको हो भन्ने विषयमा सम्बन्धित कार्यालयले स्पष्ट जानकारी दिनुपर्ने माग उठेको छ।
यस घटनाबारे सम्बन्धित निकायले तत्काल छानबिन गरी कार्डहरू फोहोरमा कसरी पुगे, नागरिकको व्यक्तिगत विवरण सुरक्षित छ कि छैन र जिम्मेवार पक्ष को हो भन्ने विषयमा स्पष्ट पार्नुपर्ने देखिन्छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?