क्यासिनोबाट गाउँपालिका अध्यक्ष जसवन्त यादव र इन्स्पेक्टर प्रदीप पौडेलसहित ८ जना पक्राउ
वीरगञ्ज, २१ भदौ
वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि (क्यासिनो) मा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार भदौ २० गते राति करिब १२ः३० बजे क्यासिनोमा नेपाली नागरिक प्रवेश गरी जुवा खेलिरहेको सूचना प्राप्त भएपछि प्रहरी टोली खटिएको थियो। प्रहरीले जुवा खेलिरहेका चार नेपाली नागरिक र नेपालीलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउन संलग्न चार कर्मचारीलाई नियन्त्रणमा लिएको हो।
जुवा खेलिरहेको अवस्थामा पक्राउ पर्नेमा पर्साको सखुवाप्रसौनी गाउँपालिका–४ का ३६ वर्षीय जसवन्त यादव, ३० वर्षीय चन्दन सहनी, वीरगञ्ज महानगरपालिका–११ का ३२ वर्षीय ओमप्रकाश बेटा तथा जगरनाथपुर गाउँपालिका–९ का ३६ वर्षीय प्रदिप पोखरेल रहेका छन्।
त्यस्तै, नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउन संलग्न रहेको आरोपमा क्यासिनोका कर्मचारीहरू वीरगञ्ज–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरी पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जगदेव साह र वीरगञ्ज–१२ का ५० वर्षीय प्रदेशी साहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले नियन्त्रणमा लिइएका सबैमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





