जाममा आक्रोशित बने (रास्वपा) सांसद गौतम, गाडी तेर्स्याएर यात्रुसँग विवाद
मकवानपुर, २४ भदौ ।
मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद प्रकाश गौतमले भीमफेदीको जुरिखेतमा जामका बीच सडकमा निजी गाडी तेर्स्याएर यात्रुसँग विवाद गरेको घटना सार्वजनिक भएको छ।
मंगलबार दिउँसो करिब ३ बजेतिर भीमफेदी बजारमाथि जुरिखेतमा अत्यधिक सवारी चापका कारण जाम भएको थियो। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा पहिरो गएपछि पश्चिम नेपालतर्फ जाने साना सवारी हेटौंडा–कुलेखानी–फर्पिङ–बल्खु सडकखण्ड हुँदै सञ्चालन भइरहेका कारण उक्त सडकमा चाप बढेको हो।

जामकै क्रममा सांसद गौतम परिवारसहित निजी गाडीमा काठमाडौं जाँदै थिए। सोही क्रममा उनले आफ्नो गाडी सडकमा तेर्स्याएपछि दुवैतर्फका सवारी साधनसमेत केही समय रोकिएको बताइएको छ। गाडीबाट ओर्लिएपछि गौतम र यात्रुहरूबीच भनाभन भएको प्रत्यक्षदर्शी सुसन भ्लोनले बताएका छन्।
भ्लोनका अनुसार सडक खुलाएर यात्रुलाई गन्तव्यतर्फ जान दिन आग्रह गर्दा विवाद भएको थियो। त्यसपछि आफूलाई सांसद गौतमको आग्रहमा प्रहरीले नियन्त्रणमा लिएर भैंसे प्रहरी चौकीमा करिब दुई घण्टा राखेको उनको दाबी छ। भ्लोनले आफूलाई सांसदले घुमाउरो शैलीमा धम्की दिएको महसुस भएको समेत बताएका छन्।
यता सांसद गौतमले भने आफूभन्दा पछाडि रहेको इभीका चालकले आफूलाई भिरबाट खसालिदिने धम्की दिएको र केही मोटरसाइकल चालकले अश्लिल गालीगलोज गरेपछि आफूले गाडी रोकेर ओर्लिएको दाबी गरेका छन्।
आफूले सम्बन्धित सवारी साधनको नम्बर टिपोट गरेको बताउँदै गौतमले यात्रुलाई दुई घण्टा प्रहरी चौकीमा राख्न नलगाएको दाबी गरेका छन्। उनका अनुसार बढीमा १० मिनेटजति मात्र राखिएको र फोन नम्बर लिएर छाड्न आग्रह गरिएको हो।
मकवानपुरका प्रहरी प्रमुख एसपी श्यामबहादुर खत्रीले जुरिखेतमा सांसद गौतम र यात्रुहरूबीच विवाद भएकोबारे आफूलाई जानकारी रहेको बताएका छन्। यद्यपि, सांसदको भनाइका आधारमा कुनै प्रमाणित कसुरबिना यात्रुलाई लामो समयसम्म प्रहरी नियन्त्रणमा राख्नु उचित हो कि होइन भन्ने प्रश्नमा उनले प्रतिक्रिया दिन चाहेनन्।
एसपी खत्रीले सडकमा अत्यधिक सवारी चाप रहेकाले सहज र सुरक्षित रूपमा सवारी सञ्चालन गराउन प्रहरी प्रशासन परिचालन भइरहेको बताए।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





