सत्य, निष्पक्ष र विश्वसनीय

सांसद हरि पन्त: सिर्सिया नदी बचाउन प्रदूषण नियन्त्रणमा तत्काल कदम चाल्न सरकारसँग माग

न्युज डेस्क
२०८३ असार ३०, मंगलवार १६:५९

वीरगञ्ज, ३० असार
पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले पथलैया–वीरगञ्ज औद्योगिक करिडोरका उद्योगहरूबाट प्रशोधनबिनै रासायनिकयुक्त फोहोर पानी सिर्सिया नदीमा मिसाइँदा नदीको अस्तित्व नै संकटमा परेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद पन्तले ऐतिहासिक सिर्सिया नदी उद्योगहरूबाट निस्कने विषाक्त रासायनिक फोहोरका कारण दुर्गन्धित नालामा परिणत भएको बताए। उद्योगहरूको लापरबाही र सम्बन्धित निकायको बेवास्ताका कारण नदीको प्राकृतिक स्वरूप, जैविक विविधता तथा वातावरणीय सन्तुलनमा गम्भीर असर परेको उनको भनाइ थियो।

सिर्सिया नदी धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय दृष्टिले महत्वपूर्ण सम्पदा भएको उल्लेख गर्दै उनले विशेषगरी लोकआस्थाको महान् पर्व छठसँग यसको गहिरो सम्बन्ध रहेको स्मरण गराए। विगतमा श्रद्धालुहरूले यही नदीमा उभिएर सूर्यलाई अर्घ्य दिने परम्परा रहे पनि अहिले नदीबाट फैलिएको दुर्गन्धका कारण त्यहाँ उभिनसमेत कठिन भएको उनले बताए।

सांसद पन्तका अनुसार बढ्दो प्रदूषणका कारण सिर्सिया नदी लामखुट्टेको प्रमुख प्रजननस्थलसमेत बनेको छ। नदीबाट फैलिएको दुर्गन्ध र प्रदूषणले आसपासका बस्तीका स्थानीयवासीको जनजीवन प्रभावित भएको उल्लेख गर्दै उनले रातिको समयमा घरबाहिर बस्नसमेत कठिन अवस्था सिर्जना भएको बताए।

पछिल्ला केही वर्षदेखि सिर्सिया नदीको प्रदूषण समस्या झन् विकराल बन्दै गए पनि संघीय, प्रदेश र स्थानीय सरकारले निर्वाचनका बेला घोषणापत्रमा समेट्नेबाहेक प्रभावकारी काम गर्न नसकेको आरोप पनि उनले लगाए।

वीरगञ्जवासीले सिर्सिया नदीको संरक्षण र पुनर्जीवनका लागि सरकारसँग ठूलो अपेक्षा राखेको उल्लेख गर्दै सांसद पन्तले उद्योगहरूबाट हुने प्रदूषण तत्काल नियन्त्रण गर्न, फोहोर पानी प्रशोधनको प्रभावकारी व्यवस्था लागू गर्न तथा नदी संरक्षणका लागि ठोस कदम चाल्न सरकारसँग माग गरे।

सभामुखमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै उनले सिर्सिया नदी संरक्षण, औद्योगिक प्रदूषण नियन्त्रण, नियमित अनुगमन तथा नदी पुनर्जीवनका लागि आवश्यक नीति, योजना र कार्यक्रम तत्काल कार्यान्वयन गर्न आग्रह गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?