सत्य, निष्पक्ष र विश्वसनीय

बिरगञ्ज पब्लिक कलेजद्वारा बिबिएस अन्तिम वर्षका विद्यार्थीलाई भव्य विदाइ

न्युज डेस्क
२०८३ श्रावण ७, बिहीबार १५:१७

वीरगञ्ज, ७ साउन
बिरगञ्ज पब्लिक कलेज (बीपीसी)ले स्नातक तह (बिबिएस) अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई विदाइ गर्दै भव्य कार्यक्रम सम्पन्न गरेको छ। वीरगञ्जस्थित होटल भिस्वामा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम बिरगञ्ज पब्लिक कलेजका संस्थापक तथा मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्यको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा मधेश विश्वविद्यालयका प्रथम रजिस्ट्रार विजयकुमार यादव सहभागी हुनुहुन्थ्यो।

विशिष्ट अतिथिहरूमा बीपीसीका पूर्वविद्यार्थी तथा उद्यमी रोशन गुप्ता, बीपीसीका ब्रान्ड एम्बासडर देवेश गुप्ता, कार्यकारी निर्देशक युगलकिशोर प्रसाद शाह, शैक्षिक निर्देशक डा. बिनय ठाकुर, प्राचार्य डा. बासु कर्ण, सहायक क्याम्पस प्रमुख डा. अर्बिन्द श्रेष्ठ तथा क्याम्पस संयोजक इन्जिनियर जयकिशन साहनीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विजयकुमार यादवले स्नातक तह पूरा गरी नयाँ यात्रामा अघि बढिरहेका विद्यार्थीहरूलाई बधाई दिँदै ज्ञानसँगै सीप, अनुशासन र नैतिकताको अभ्यासले सफल जीवन निर्माण हुने बताउनुभयो। उहाँले प्रमाणपत्र मात्र नभई असल चरित्र, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वले व्यक्तिलाई सफल बनाउने उल्लेख गर्नुभयो।

उहाँले मधेश विश्वविद्यालय गुणस्तरीय, व्यवहारिक तथा अनुसन्धानमुखी शिक्षामा केन्द्रित रहेको उल्लेख गर्दै युवाहरूले रोजगारी खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

अध्यक्षीय मन्तव्यमा डा. दीपक शाक्यले बीपीसीले विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै नेतृत्व क्षमता, व्यक्तित्व विकास र व्यावसायिक दक्षता अभिवृद्धिमा विशेष प्राथमिकता दिँदै आएको बताउनुभयो। उहाँले विदाइलाई अन्त्य नभई नयाँ यात्राको सुरुआतको रूपमा लिन आग्रह गर्दै सबै विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्नुभयो।

कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, हास्य प्रस्तुति लगायत सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरूलाई सम्मान गरिएको कार्यक्रमको अर्को आकर्षण बनेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?