सत्य, निष्पक्ष र विश्वसनीय

त्रिविको ६७औँ दिवसमा वीरगञ्ज नर्सिङ क्याम्पसको अवलोकन, शिक्षण अस्पताल निर्माणको माग

न्युज डेस्क
२०८३ श्रावण ७, बिहीबार १६:२४

त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सवको अवसरमा वीरगञ्ज नर्सिङ क्याम्पस (बिर्ता) को अवलोकन तथा अन्तरक्रिया गर्दै पर्सा क्षेत्र नम्बर–२ र ३ का प्रतिनिधिसभा सदस्यहरू तथा क्याम्पसका पदाधिकारी। कार्यक्रममा शिक्षण अस्पताल निर्माण, जीर्ण भवनको पुनर्निर्माण र पूर्वाधार विकासको आवश्यकता औँल्याइएको छ।

वीरगञ्ज, ७ साउन
त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सव (त्रिवि दिवस)को अवसरमा पर्सा निर्वाचन क्षेत्र नम्बर २ र ३ का प्रतिनिधिसभा सदस्यहरूले वीरगञ्जस्थित वीरगञ्ज नर्सिङ क्याम्पस (बिर्ता) को अवलोकन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रममा क्याम्पसको वर्तमान अवस्था, शैक्षिक गतिविधि, भौतिक पूर्वाधार तथा भावी विकासका विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा क्याम्पसका पहिलो ब्याचका विद्यार्थीसमेत रहेका वरिष्ठ चिकित्सक डा. आर.पी. खेतानले करिब पाँच दशकको इतिहास बोकेको वीरगञ्ज नर्सिङ क्याम्पसले हालसम्म आफ्नै शिक्षण अस्पताल स्थापना गर्न नसक्नु दुःखद भएको बताउनुभयो। उहाँले आवश्यक पूर्वाधार र शिक्षण अस्पतालको अभावका कारण क्याम्पसले अपेक्षित रूपमा विकास गर्न नसकेको उल्लेख गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो।

क्याम्पस प्रमुख कल्पना पौडेलले करिब सात बिघा क्षेत्रफलमा फैलिएको क्याम्पसका अधिकांश भवन जीर्ण बन्दै गएको जानकारी दिँदै मर्मतसम्भार, पूर्वाधार विस्तार तथा पर्याप्त बजेट अभावका कारण शैक्षिक वातावरण प्रभावित भएको बताउनुभयो। ऐतिहासिक महत्व बोकेको क्याम्पसको संरक्षण र आधुनिकीकरणमा सरकारले विशेष प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य सुशील साह कानु र पर्सा क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य रामाकान्त चौरसियाले वीरगञ्ज नर्सिङ क्याम्पसको समग्र विकासका लागि संघीय सरकारसमक्ष आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँहरूले भौतिक पूर्वाधार सुधार, पर्याप्त बजेट व्यवस्थापन तथा बहुप्रतीक्षित शिक्षण अस्पताल निर्माणको विषय सम्बन्धित मन्त्रालयमा प्रभावकारी रूपमा उठाउने आश्वासन दिनुभयो।

अन्तरक्रियापछि सांसदद्वयले क्याम्पसका विभिन्न भवन, कक्षाकोठा तथा शैक्षिक संरचनाको स्थलगत अवलोकन गर्दै क्याम्पसको दयनीय अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँहरूले संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरी क्याम्पसको संरक्षण तथा विकासका लागि आवश्यक आर्थिक र नीतिगत सहयोग जुटाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा वीरगञ्ज युवा समाजका अमित गुप्ता, सामाजिक अभियन्ता मार्टिन मोक्तान, सञ्चारकर्मी मुकेश सिंह, क्याम्पसका शिक्षक, कर्मचारी, पूर्वविद्यार्थी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?