बिरगञ्ज पब्लिक कलेजद्वारा कक्षा ११ का नवप्रवेशी विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण
वीरगञ्ज, ७ साउन
बिरगञ्ज पब्लिक कलेज (बीपीसी)ले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गर्दै स्वागत तथा अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। वीरगञ्जस्थित होटल भिस्वामा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कलेजका कार्यकारी निर्देशक युगल किशोर प्रसाद शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल सहभागी हुनुहुन्थ्यो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजपालले गुणस्तरीय शिक्षा, अनुशासन, नेतृत्व क्षमता र व्यवहारिक सीप नै विद्यार्थीको सफल भविष्य निर्माणका आधार भएको बताउनुभयो। उहाँले अध्ययनसँगै व्यक्तित्व विकास र सकारात्मक सोचलाई पनि समान महत्व दिन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो।

कार्यक्रममा नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्ज च्याप्टरका अध्यक्ष चन्दन सिंह, कलेजका संस्थापक डा. दीपक शाक्य, ब्रान्ड एम्बासडर देवेश गुप्ता, शैक्षिक निर्देशक डा. बिनय ठाकुर, प्राचार्य डा. बासु कर्ण, सहायक क्याम्पस प्रमुख डा. अर्बिन्द श्रेष्ठ तथा क्याम्पस संयोजक इन्जिनियर जयकिशन साहनीले नवप्रवेशी विद्यार्थीहरूलाई सफल शैक्षिक यात्राको शुभकामना व्यक्त गर्दै अध्ययनसँगै नेतृत्व विकास, चरित्र निर्माण र व्यवहारिक सीप अभिवृद्धिमा ध्यान दिन प्रेरित गर्नुभयो।
कार्यक्रममा कलेजका शैक्षिक गतिविधि, उपलब्धि तथा भावी योजनाबारे जानकारी गराउनुका साथै नवप्रवेशी विद्यार्थीहरूलाई कलेज परिवारमा औपचारिक रूपमा स्वागत गरिएको थियो।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





