ग्यास अभावको गुनासोपछि बजार अनुगमनमा निस्किए वीरगञ्जका सीडीओ
वीरगञ्ज, २३ साउन
वीरगञ्जमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल आफैं शनिबार ग्यास डिलरको अनुगमनमा निस्किएका छन्।
प्रमुख जिल्ला अधिकारी दाहालको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी दयाकृष्ण थापा र कृष्ण चापागाईं, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्की, नेपाल आयल निगमका प्रमुख, गुणस्तर तथा नापतौल कार्यालयका प्रतिनिधि, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका मधुलेश साह, उपभोक्ता संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य अजित भुजेल तथा ग्यास बिक्रेता संघ पर्साका अध्यक्ष वीरेन्द्र साहलगायतको टोलीले वीरगञ्जका विभिन्न ग्यास डिलरको अनुगमन गरेको हो।
अनुगमन टोलीले जिल्ला प्रशासन कार्यालय पछाडिको क्षेत्र, बनारसी चोक, रानिघाट, श्रीपुर, ओमआश्रम, पानीटंकी, रेशमकोठी, ६ नम्बर गेटलगायतका क्षेत्रमा रहेका ग्यास डिलर तथा गोदामको निरीक्षण गरेको थियो।
अनुगमनका क्रममा अधिकांश डिलरमा भरिएका ग्यास सिलिन्डरभन्दा खाली सिलिन्डरको मौज्दात बढी देखिएको टोलीले जनाएको छ। डिलर सञ्चालकहरूले कम्पनीले पर्याप्त ग्यास नपठाएकाले बजारमा कृत्रिम अभाव सिर्जना भएको दाबी गरेका छन्।
यता ग्यास उद्योग पक्षले भने आफूसँग पर्याप्त खाली सिलिन्डर नरहेका कारण डिलरहरूमा समयमा ग्यास पठाउन नसकिएको बताएको अनुगमनका क्रममा देखिएको छ।
तर, अनुगमनका क्रममा एउटा मात्रै डिलरमा ४८० वटा खाली ग्यास सिलिन्डर मौज्दात रहेको फेला परेको छ। वीरगञ्जका अन्य डिलरहरूमा समेत ३५०, २५०, १०० र ५० वटासम्म खाली सिलिन्डर पसल तथा गोदाममा राखिएको भेटिएको छ।
डिलरहरूमा ठूलो संख्यामा खाली सिलिन्डर मौज्दात रहेको अवस्थामा बजारमा ग्यास अभाव देखिनुले ग्यास आपूर्ति तथा वितरण प्रणालीमाथि प्रश्न उठाएको छ।
यता उपभोक्ताहरू भने ग्यास नपाएर डिलर–डिलर धाउन बाध्य भएका छन्। विभिन्न डिलरमा पुग्दा समेत ग्यास नपाएपछि उपभोक्ताहरू रित्तो सिलिन्डर बोकेर फर्किनुपर्ने अवस्था रहेको अनुगमनका क्रममा देखिएको छ।
बजारमा ग्यासको अभाव देखिएको अवस्थामा प्रशासनले आपूर्ति प्रणाली, डिलरको मौज्दात तथा उद्योगबाट हुने वितरणबारे थप निगरानी आवश्यक देखिएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





