वीरगञ्जमा सडकका खाल्डाखुल्डी पुर्न र अव्यवस्थित तार हटाउन महानगरको अभियान तीव्र
वीरगञ्ज, २३ साउन
सडक विस्तारका क्रममा वीरगञ्ज महानगरपालिकाभित्र देखिएका खाल्डाखुल्डी पुर्ने तथा अव्यवस्थित बिजुलीका तार व्यवस्थापन गर्ने काम तीव्र पारिएको छ।
महानगरपालिकाले नगरभित्रका बिग्रिएका सडक मर्मत गर्नुका साथै बिजुलीका पोलमा टाँगिएका काम नलाग्ने तथा अलपत्र तार हटाउने अभियान सञ्चालन गरेको हो।
विशेषगरी मुख्य बजार क्षेत्रमा सडक विस्तारका क्रममा डोजरको निरन्तर प्रयोग हुँदा सडकमा खाल्डाखुल्डी बनेका थिए। त्यस्तै, विभिन्न स्थानमा चुँडिएका तथा अव्यवस्थित तारका कारण सर्वसाधारण र सवारीचालकले समस्या भोग्दै आएका थिए। नागरिकको असुविधालाई ध्यानमा राख्दै तत्काल समस्या समाधान गर्न महानगरपालिकाले अभियान सञ्चालन गरेको जनाएको छ।
महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमको निर्देशनमा सरसफाइ तथा व्यवस्थापनको काम सुरु गरिएको हो।
सरसफाइ शाखा प्रमुख सरफुद्दिन अन्सारीका अनुसार सडकमा रहेका जोखिमपूर्ण खाल्डाखुल्डी पुर्ने र बिजुलीका पोलमा टाँगिएका काम नलाग्ने तथा अलपत्र तार हटाउने काम भइरहेको छ। महानगरलाई व्यवस्थित, सुरक्षित र सुन्दर बनाउने उद्देश्यले अभियानलाई निरन्तरता दिइने उनले बताए।
महानगरपालिकाको सक्रियतासँगै मुख्य बजार क्षेत्रको यातायात आवागमन सहज हुनुका साथै सडक दुर्घटनाको सम्भावित जोखिमसमेत कम हुने अपेक्षा गरिएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





