सरकारको कामकारबाहीमाथि रास्वपा सांसद अमरेशकुमार सिंहको प्रश्न
काठमाडौं, २८ साउन
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सरकारको कामकारबाहीप्रति गम्भीर प्रश्न उठाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत सिंहले सरकारको कामकारबाहीले राज्यलाई थप पछाडि धकेल्ने काम भइरहेको भन्दै सोच्ने बेला आएको बताएका छन्। उनले प्रश्न गरेका छन्, ‘के समृद्धि र सुशासनको रोडम्याप यही हो ? कि राज्यलाई अझै पछाडि धकेल्ने काम भइरहेको छ? सोच्ने बेला भएको छैन ?’
सिंहले देशभरका सार्वजनिक संस्था तथा सरकारी निकायमाथि हस्तक्षेप भइरहेको आरोप लगाउँदै सेना, प्रहरी र कर्मचारीको समेत हुर्मत लिने काम भइरहेको टिप्पणी गरेका छन्।
उनको टिप्पणी रास्वपाकै सांसद खगेन्द्र सुनारले बुधबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा म्यादी प्रहरीको पोसाक खरिदमा भ्रष्टाचार भएको आरोप लगाउँदै नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) र गृहसचिवमाथि गरेको टिप्पणीसँग जोडिएको देखिन्छ।
सिंहले संसद्मा सांसदहरूबाट आउने अभिव्यक्तिले संसद्कै गरिमामाथि प्रश्न उठिरहेको समेत बताएका छन्। व्यापारीहरूको धरपकडका कारण व्यवसायीहरू त्रसित रहेको उनको भनाइ छ।
परराष्ट्र नीतिप्रति पनि उनले असन्तुष्टि जनाएका छन्। ‘परराष्ट्र नीति त झन् यस्तो कि कसैले विश्वास गरिरहेको छैन,’ सिंहले लेखेका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





