सत्य, निष्पक्ष र विश्वसनीय

साढे पाँच महिनापछि स्वदेश फर्किए देउवा, विमानस्थलमा भव्य स्वागत

न्युज डेस्क
२०८३ श्रावण २८, बिहीबार २३:५१

काठमाडौं, २८ साउन
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएको करिब साढे पाँच महिनापछि बिहीबार स्वदेश फर्किनुभएको छ। फागुन १३ गते सिंगापुर पुगेका देउवा थाई एयरको विमानमार्फत बिहीबार दिउँसो करिब साढे १२ बजे काठमाडौं आइपुग्नुभएको हो। उहाँकी पत्नी आरजु राणा देउवा भने सिंगापुरमै रहनुभएको छ।
देउवा स्वदेश फर्किने खबरसँगै उहाँलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कांग्रेस नेता–कार्यकर्ता तथा समर्थकको ठूलो भीड जम्मा भएको थियो। विमानस्थलभित्रै पुगेर पूर्वउपसभापति पूर्णबहादुर खड्का, डा. शशांक कोइराला, विमलेन्द्र निधिलगायत नेताहरूले देउवालाई स्वागत गरेका थिए।
विमानस्थलको बाहिरी गेटमा समर्थकहरूले खादा–माला, बाजागाजा र ब्यानरसहित देउवाको स्वागत गर्दै नाराबाजी गरेका थिए। पार्टीभित्र विभाजनको अवस्था देखिएका बेला देउवाको पुनरागमनलाई कांग्रेस एकताका लागि महत्वपूर्ण मान्दै समर्थकहरू उत्साहित देखिएका हुन्।
सुरक्षाकर्मीको स्कर्टिङमा देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट महाराजगञ्जको चुनदेवीस्थित कांग्रेसको असन्तुष्ट समूहको सम्पर्क कार्यालय पुर्‍याइएको थियो। त्यहाँ कार्यकर्तालाई सम्बोधन गर्दै देउवाले आफूलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले समेत हटाउन नसकेको उल्लेख गर्दै आफूलाई अरू कसैले हटाउन नसक्ने दाबी गर्नुभयो।
जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको देउवा निवासमा नबस्ने र अब महाराजगञ्जको चुनदेवीस्थित भाडाको घरमा बस्ने तयारी रहेको बताइएको छ।
यता नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सानेपामा जारी छ। बैठकको सुरुमै सभापति गगन थापाले पूर्वसभापति देउवालाई स्वदेशमा स्वागत गर्नुभएको एक केन्द्रीय सदस्यले जानकारी दिए। कांग्रेस प्रवक्ता देवराज चालिसेले पनि देउवालाई स्वदेशमा स्वागत गरिएको बताउनुभएको छ।
कांग्रेसको संस्थापनइतर समूहले शुक्रबारदेखि काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ। उक्त भेलामा देउवाले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यसकारण पनि उहाँको स्वदेश फिर्तीलाई कांग्रेसभित्रको आगामी समीकरण र एकताको सम्भावनासँग जोडेर हेरिएको छ।
विमानस्थलमा देखिएको देउवा समर्थकको उत्साहले पार्टीभित्रको राजनीतिक प्रभावमा कस्तो असर पार्छ भन्ने विषय भने आगामी दिनमा स्पष्ट हुँदै जानेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?