ग्यास अभावप्रति सरकार गम्भीर नभएको बिक्रेता महासंघको आरोप
काठमाडौं, ३१ साउन
ग्यास बिक्रेता महासंघले खाना पकाउने ग्यासको चरम अभावप्रति सरकार गम्भीर नभएको आरोप लगाएको छ। महासंघले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल आयल निगम, वाणिज्य मन्त्रालय तथा अन्य सरकारी निकाय समस्या समाधान गर्नभन्दा ‘अनावश्यक प्रचारबाजी’मा लागेको दाबी गरेको हो।
महासंघका अनुसार विगत चार महिनामा करिब ६० हजार मेट्रिक टन ग्यास कम आयात भएको छ। आयातमा आएको यो ठूलो गिरावटका कारण बजारमा खाना पकाउने ग्यासको अभाव देखिएको महासंघको भनाइ छ।

महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले हस्ताक्षर गरेको विज्ञप्तिमा बजारमा आवश्यकताभन्दा बढी अर्थात् करिब ८० लाख सिलिन्डर छरिएर रहेको उल्लेख गरिएको छ। यति ठूलो संख्यामा सिलिन्डर बजारमा हुँदाहुँदै पनि नयाँ सिलिन्डर बिक्री गर्ने कार्य नरोकिनुले आगामी वर्ष समस्या थप जटिल बन्न सक्ने महासंघले जनाएको छ।

महासंघले ग्यास अभावको अर्को प्रमुख कारण उद्योग तथा विभिन्न बिक्री केन्द्रबाट सीधै ग्यास बिक्री हुनु रहेको आरोप लगाएको छ। स्थापित वितरण च्यानल अर्थात् बिक्रेतामार्फत ग्यास बिक्री नगरी उद्योग र बिक्री केन्द्रका नामबाट प्रत्यक्ष बिक्री गर्दा बजारमा आपूर्ति तथा वितरण प्रणाली प्रभावित भएको महासंघको दाबी छ।
ग्यासको आपूर्ति सहज बनाउन आयात, वितरण प्रणाली र सिलिन्डर व्यवस्थापनमा तत्काल प्रभावकारी कदम चाल्नुपर्ने महासंघले माग गरेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





