भारतीय प्रधानसेनापति धिरज सेठ आज नेपाल आउँदै
काठमाडौं, ३१ साउन
भारतीय प्रधानसेनापति धिरज सेठ आइतबार नेपाल भ्रमणमा आउँदै छन्। सन् २०२६ जुन ३० मा भारतीय सेनाको प्रधानसेनापतिका रूपमा पदभार सम्हालेका सेठ आइतबार अपराह्न ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।
नेपाल भ्रमणका क्रममा भारतीय प्रधानसेनापति सेठलाई सोमबार नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ।

नेपाल र भारतबीच सन् १९५० देखि एकअर्का देशका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ। सोही परम्पराअनुसार नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पनि भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गरिसकेका छन्।
गत मङ्सिर २७ गते नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानसेनापति सिग्देललाई भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन्।
दुवै देशका प्रधानसेनापति नियुक्त भएपछि एकअर्काको देशमा भ्रमण गर्ने परम्परासमेत रहिआएको छ। भारतीय प्रधानसेनापति सेठको नेपाल भ्रमणलाई नेपाल–भारतबीचको लामो समयदेखिको सैनिक सम्बन्ध र सहकार्यको निरन्तरताका रूपमा हेरिएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





