बंगलादेशका १२ फोटो पत्रकार नेपालमा, पर्यटन प्रवर्द्धनमा जोड
काठमाडौँ , ३० साउन
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा बंगलादेश फोटो पत्रकार संघका १२ जना फोटो पत्रकार नेपाल आएका छन्। संघका अध्यक्ष एकेएम मोहसिनको नेतृत्वमा आएको टोलीले विश्व फोटोग्राफी दिवसका अवसरमा नेपालमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागिता जनाउनेछ।
टोलीले विश्व फोटोग्राफी दिवसको अवसरमा काठमाडौँको ऐतिहासिक हनुमानढोकामा ‘ब्युटिफुल बंगलादेश’ फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ। प्रदर्शनीमार्फत बंगलादेशको प्राकृतिक सौन्दर्य, संस्कृति, जनजीवन तथा पर्यटनका विविध पक्ष नेपाली दर्शकमाझ प्रस्तुत गरिनेछ।

नेपाल भ्रमणका क्रममा बंगलादेशी फोटो पत्रकार टोली पोखरा र चितवनको तीनदिने भ्रमणमा पनि निस्कने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा उनीहरूले पोखरा र चितवनका प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, पर्यटन गतिविधि तथा स्थानीय जीवनशैलीको अवलोकन गरी तस्बिर तथा सञ्चारमाध्यममार्फत बंगलादेशमा प्रचार–प्रसार गर्नेछन्।

राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तको निमन्त्रणामा टोली नेपाल आएको हो। अध्यक्ष वन्तका अनुसार बंगलादेश फोटो पत्रकार संघ र नेपालका फोटो पत्रकारहरूको संस्थाबीच विगत २१ वर्षदेखि भाइचारा, सहकार्य र आपसी सम्बन्ध निरन्तर रहँदै आएको छ।
उनले दुई देशका फोटो पत्रकारबीच हुने यस्ता भ्रमण, तस्बिर आदानप्रदान तथा पर्यटन प्रवर्द्धनसम्बन्धी गतिविधिले नेपाल र बंगलादेशबीचको सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।
“फोटो पत्रकारितामार्फत एकअर्का देशका पर्यटन, संस्कृति, प्राकृतिक सौन्दर्य र जनजीवनलाई विश्वमाझ चिनाउन सकिन्छ,” अध्यक्ष वन्तले भने, “यसले दुई देशबीचको पर्यटन, सामाजिक, सांस्कृतिक, राजनीतिक तथा आर्थिक सम्बन्ध विस्तारमा सफ्ट डिप्लोमेसीको काम गर्छ।”
उनका अनुसार यस्ता कार्यक्रमबाट नेपाल र बंगलादेश दुवै देशले एकअर्काको पर्यटन प्रवर्द्धनबाट लाभ लिन सक्नेछन्। विशेषगरी फोटो पत्रकारहरूले प्रत्यक्ष रूपमा भ्रमण गरी तयार पार्ने तस्बिर तथा दृश्य सामग्रीले पर्यटकीय गन्तव्यको अन्तर्राष्ट्रिय प्रचार–प्रसारमा प्रभावकारी योगदान पुग्ने अपेक्षा गरिएको छ।
नेपाल भ्रमणका क्रममा बंगलादेशी फोटो पत्रकारहरूले पोखरा र चितवनका प्रमुख पर्यटकीय तथा सांस्कृतिक स्थलहरूको अवलोकन गर्दै तस्बिर खिच्नेछन्। ती सामग्रीलाई बंगलादेशका विभिन्न सञ्चारमाध्यम तथा फोटो पत्रकारितासम्बन्धी प्लेटफर्ममार्फत प्रचार–प्रसार गर्ने कार्यक्रम रहेको छ।
एनएफपीजे नेपालले दुई देशका फोटो पत्रकारबीचको २१ वर्ष पुरानो सम्बन्धलाई अझ सुदृढ बनाउँदै आगामी दिनमा पर्यटन, संस्कृति, पत्रकारिता तथा व्यावसायिक सहकार्यका क्षेत्रमा थप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





