वीरगन्जमा अवैध औषधि उत्पादन तथा स्टिकर लेबलिङ आरोपमा फार्मास्युटिकल्स सञ्चालक पक्राउ
वीरगन्ज, २९ साउन
पर्सा प्रहरीले सरकारी अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा बिक्री–वितरणका लागि स्टिकर लेबलिङ गरेको आरोपमा वीरगन्ज महानगरपालिका–११, श्रीपुरस्थित आरपी फार्मास्युटिकल्स प्रालिका सञ्चालक राहुलकुमार चौहानलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी राजु कार्की र वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नवीन थापामगरको संयुक्त प्रहरी टोलीले उद्योगमा छापामारी चौहानलाई नियन्त्रणमा लिएको हो।
पर्साका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता चक्रबहादुर मल्लका अनुसार सरकारी अनुमतिबिना औषधि उत्पादन गरी बिक्री–वितरणका लागि स्टिकर टाँस्ने कार्य भइरहेको सूचनाका आधारमा उद्योगमा खानतलासी गर्दा गैरकानुनी गतिविधि फेला परेको हो।
प्रहरीले घटनास्थलबाट अवैध औषधिजन्य सामग्रीसहित घटनासँग सम्बन्धित अन्य महत्वपूर्ण प्रमाणसमेत बरामद गरेको जनाएको छ।
पक्राउ परेका चौहानलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय श्रीपुरमा राखिएको प्रहरीले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





