हेटौँडा बसपार्कमा पार्किङ विवादपछि धारिलो हतियार प्रहार, चार जना घाइते
हेटौँडा, २९ साउन
हेटौँडा उपमहानगरपालिका–१० स्थित बसपार्कमा गाडी पार्किङको विषयलाई लिएर भएको विवादका क्रममा धारिलो हतियार प्रहार हुँदा चार जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार २०८३ साउन २९ गते बिहान करिब ११ः३० बजे हेटौँडा–१० बसपार्कमा मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीका करिब ३१ वर्षीय लक्ष्मण बर्तौलासहित अन्य व्यक्तिबीच गाडी पार्किङ गर्ने विषयमा विवाद भएको थियो। विवाद चर्किँदै गएपछि धारिलो हतियार प्रहार हुँदा चार जना घाइते भएका हुन्।
घाइते हुनेमा मकवानपुर मनहरी गाउँपालिका–६ का २७ वर्षीय जीवन गोले, ओखलढुङ्गा सिंहदेवी गाउँपालिका–७ का २८ वर्षीय राइज आले मगर, चितवन राप्ती नगरपालिका–२ मिलनटोलका ३२ वर्षीय रामबहादुर पाख्रीन र चितवन राप्ती नगरपालिका–४ डडुवाका २८ वर्षीय जीवन तामाङ रहेका छन्।
प्रहरीका अनुसार जीवन गोले र रामबहादुर पाख्रीनको अवस्था मध्यम तथा राइज आले मगर र जीवन तामाङको अवस्था सामान्य रहेको छ। घाइते चारै जनालाई हेटौँडामा सामान्य उपचारपछि थप उपचारका लागि चितवन पठाइएको छ।
घटनापछि प्रहरीले खोजतलास तथा अनुसन्धान तीव्र बनाउने क्रममा मकवानपुर हेटौँडा उपमहानगरपालिका–१२ पदमपोखरीका ३३ वर्षीय सुनिल थिङ, हेटौँडा–१५ भोर्लेका २८ वर्षीय करण लामा र मनहरी गाउँपालिका–१ मकरीका २३ वर्षीय उज्ज्वल बर्तौलालाई नियन्त्रणमा लिएको जनाएको छ।
यसैगरी घटनामा संलग्न रहेको शंकाका आधारमा भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बस्ने ३७ वर्षीय लक्ष्मण विष्टलाई समेत नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ। घटनामा संलग्न हुन सक्ने अन्य व्यक्तिहरूको समेत खोजतलास जारी रहेको प्रहरीले जनाएको छ।
क्याप्सन: हेटौँडा–१० स्थित बसपार्कमा गाडी पार्किङको विषयमा विवाद हुँदा धारिलो हतियार प्रहारबाट चार जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





