सत्य, निष्पक्ष र विश्वसनीय

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, एक जना गम्भीर घाइते

न्युज डेस्क
२०८३ भाद्र ७, आईतवार १२:०९

पोखरा, ७ भदौ
कास्कीको पोखरा महानगरपालिका–१८ लामागाउँमा तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई विद्युत् पोल र बसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने एक पुरुष गम्भीर घाइते भएका छन्।
ग.२० प ६०९४ नम्बरको मोटरसाइकल सुरुमा सडक छेउको विद्युत् पोलमा ठोक्किएको थियो। पोलमा ठोक्किएपछि मोटरसाइकलबाट लडेकी पोखरा–१८ की २९ वर्षीया रुपा बिकलाई पोखराबाट साराङकोटतर्फ जाँदै गरेको ग.१ ख ४३३५ नम्बरको बसले किचेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी बिकलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो। चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मोटरसाइकल चालक पोखरा–१८ सुन्दरपोखरीका ४३ वर्षीय रामचन्द्र बिक गम्भीर घाइते भएका छन्। उनको टाउको र दायाँ कानमा चोट लागेको छ। उनको मणिपाल शिक्षण अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले बस चालक कास्कीको अन्नपूर्ण गाउँपालिका–१ नौडाँडाका २४ वर्षीय अभिषेक परियारलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?