दुई वर्षीया बालिका घरपछाडिको झाडीमा मृत फेला, ‘घरभित्रकै व्यक्ति’ पक्राउ
जनकपुरधाम, ७ भदौ
शम्भुनाथ नगरपालिका–३ स्थित ट्राफिक चौकमा दुई वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्। मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुशी भनिने सानिया खातुन घरपछाडिको झाडीमा मृत फेला परेकी हुन्।
परिवारका अनुसार सानिया आज बिहानदेखि हराएकी थिइन्। बालिका हराएको जानकारी प्रहरीलाई गराएपछि प्रहरीले खोजतलास सुरु गरेको थियो। खोजीका क्रममा आफ्नै घरको पछाडिपट्टिको झाडीमा उनलाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

घटनाबारे अनुसन्धानका क्रममा प्रहरीले घरकै एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। ती व्यक्तिको हाउभाउ तथा गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर सोधपुछ भइरहेको स्रोतले जनाएको छ।
बालिकाको मृत्युको कारण भने हालसम्म खुल्न सकेको छैन। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी रुपक खड्कासहितको अनुसन्धान टोली पुगेको छ। प्रहरीले मुचुल्का तयार पार्नुका साथै घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





