बारामा ३ वर्षीया बालिकाको हत्या प्रकरणमा प्रहरी अनुसन्धानमाथि प्रश्न
बारा, ८ भदौ
बारामा ३ वर्षीया बालिकामाथि बलात्कारपछि हत्या गरेको आरोप लागेका किशोर प्रहरी हिरासतमा रहेका बेला खिचिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीको अनुसन्धान प्रक्रियामाथि प्रश्न उठेको छ।
प्रहरीका अनुसार मेडिकल जाँचका क्रममा चिकित्सकले अभियुक्तसँग प्रश्नोत्तर गरिरहेको अवस्थाको भिडियो सार्वजनिक भएको हो। अनुसन्धानकै क्रममा रहेको संवेदनशील सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको अनुसन्धान, अभियुक्तको अधिकार तथा पीडित परिवारको गोपनीयताबारे गम्भीर प्रश्न उठेका छन्।
बलात्कार तथा हत्या जस्ता जघन्य अपराधमा अनुसन्धानका क्रममा संकलित बयान वा भिडियो सार्वजनिक गर्नु आपत्तिजनक रहेको भन्दै सामाजिक सञ्जालमा विरोध भइरहेको छ। यस्ता सामग्रीको अनधिकृत प्रसारले पीडितको मर्यादा र गोपनीयतामा असर पुर्याउनुका साथै निष्पक्ष न्याय प्रक्रियामाथि समेत प्रभाव पार्न सक्ने सरोकारवालाहरूको भनाइ छ।
घटनाको अनुसन्धानलाई संवेदनशील र कानुनी मापदण्डअनुसार अघि बढाउँदै अनुसन्धानका क्रममा रहेका सामग्री कसरी बाहिरियो भन्ने विषयमा समेत सम्बन्धित निकायले स्पष्ट छानबिन गर्नुपर्ने माग उठेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





