सांसद हरि पन्त सम्बन्धी समाचारलाई लिएर प्रेस चौतारी नेपालको आपत्ति
वीरगञ्ज, ८ भदौ
पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद बुद्धिप्रसाद पन्त (हरि पन्त) सम्बन्धी प्रकाशित समाचारलाई लिएर प्रेस चौतारी नेपाल, पर्सा शाखाले आपत्ति जनाएको छ। संगठनले विज्ञप्ति जारी गर्दै समाचार प्रकाशनको विषयलाई लिएर सञ्चारमाध्यमका सम्पादक तथा सञ्चालकविरुद्ध मुद्दा दर्ता, पक्राउ पुर्जी जारी गर्ने र धरपकडको वातावरण सिर्जना गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
प्रेस चौतारी नेपाल पर्साले सार्वजनिक पदमा रहेका व्यक्ति वा जनप्रतिनिधिको गतिविधिमाथि प्रश्न उठाउने, तथ्य सार्वजनिक गर्ने तथा सम्बन्धित पक्षको धारणा समेटेर समाचार सम्प्रेषण गर्नु पत्रकारको संवैधानिक अधिकार र व्यावसायिक दायित्व भएको उल्लेख गरेको छ।
प्रकाशित समाचारप्रति असहमति, गुनासो वा आपत्ति भए कानुनी तथा संस्थागत उपचारका लागि प्रेस काउन्सिल नेपाललगायत सम्बन्धित निकायमा जाने व्यवस्था हुँदाहुँदै सत्ता र शक्तिको दुरुपयोग गरी पत्रकारलाई तर्साउने तथा दबाबमा पार्ने प्रयास स्वीकार्य नहुने संगठनको भनाइ छ।
विज्ञप्तिमा पत्रकारहरू आफैं अदालतमा उपस्थित भई साधारण तारेखमा रिहा भइसकेको अवस्थामा समेत अपनाइएको प्रक्रियाको औचित्य र बदनियतबारे प्रश्न उठाइएको छ। मुद्दाको भय देखाएर प्रेसलाई मौन गराउने, निर्भीक पत्रकारिताको मनोबल गिराउने तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रयास कुनै पनि हालतमा स्वीकार्य नहुने प्रेस चौतारी नेपालको भनाइ छ।
प्रेस स्वतन्त्रता नेपालको संविधानले सुनिश्चित गरेको मौलिक अधिकार भएको उल्लेख गर्दै संगठनले सञ्चार संस्था तथा पत्रकारमाथि बनाइएको अनावश्यक दबाब, धरपकड र भयको वातावरण तत्काल अन्त्य गर्न तथा घटनाको निष्पक्ष समीक्षा गर्न सम्बन्धित पक्षसँग माग गरेको छ।
साथै, माग सम्बोधन नभए प्रेस स्वतन्त्रताको रक्षाका लागि उचित प्रतिवाद तथा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनीसमेत विज्ञप्तिमार्फत दिइएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





