राहतको चाउचाउ बेचेर औषधि किन्दै आएका बाढीपीडितले पाए निःशुल्क उपचार र औषधि
काठमाडौं, २० भदौ
भोटेकोशी नदीमा आएको बाढीबाट सर्वस्व गुमाएका बाढीपीडितका लागि नियमित औषधि सेवन गर्नुपर्ने समस्या झन् गम्भीर बनेको छ। राहतस्वरूप पाएको चाउचाउ बेचेर प्रेसरको औषधि किन्दै आएका सुरेशकुमार कारञ्जितले भने काठमाडौं मेडिकल कलेज (केएमसी) को निःशुल्क स्वास्थ्य शिविरमा पुगेर आवश्यक औषधि निःशुल्क पाएका छन्।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले घरसम्पत्तिसहित सर्वस्व गुमाएपछि कारञ्जितसँग औषधि किन्ने पैसासमेत थिएन। विभिन्न संघसंस्थाबाट प्राप्त राहत सामग्रीले खानेकुराको जोहो हुँदै आए पनि नियमित सेवन गर्नुपर्ने प्रेसरको औषधि किन्न उनलाई समस्या भएको थियो।
बाध्य भएर राहतमा पाएको चाउचाउ बेचेर त्यसबाट आएको पैसाले औषधि खरिद गर्दै आएका कारञ्जितले केएमसीको स्वास्थ्य शिविरमा चिकित्सकबाट स्वास्थ्य परीक्षण गराएपछि आफूलाई आवश्यक पर्ने प्रेसरको औषधि निःशुल्क पाए।
नेपाली कांग्रेसका नेता तथा समाजसेवी डा. सुनीलकुमार शर्माको पहलमा केएमसीले बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविर कारञ्जितजस्ता धेरै पीडितका लागि उपचारसँगै औषधि अभाव टार्ने माध्यम बनेको छ।
बाढीका कारण घर, सम्पत्ति र आम्दानीको स्रोत गुमाएका पीडितले खाद्यान्न तथा अन्य राहत सामग्री पाए पनि नियमित औषधि सेवन गर्नुपर्ने बिरामीका लागि औषधिको अभाव गम्भीर समस्या बनेको थियो। विशेषगरी उच्च रक्तचाप, मधुमेहलगायत दीर्घरोग भएका वृद्धवृद्धा तथा अन्य बिरामी उपचार र औषधि दुवैको अभावमा समस्यामा परेका थिए।
कतिपय प्रभावित क्षेत्रमा सामान्य औषधि उपलब्ध भए पनि चिकित्सकले सिफारिस गरेको औषधि नपाउने समस्या रहेको पीडितहरूले बताएका छन्। केएमसीको टोलीले भने विशेषज्ञ चिकित्सकसहित प्रभावित क्षेत्रमा पुगेर स्वास्थ्य परीक्षण गर्नुका साथै बिरामीको रोग र अवस्थाअनुसार आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराउँदै आएको छ।
शिविरमा वृद्धवृद्धा, महिला, सुत्केरी, बालबालिका तथा दीर्घरोगीसहित बाढी प्रभावित नागरिकले प्रत्यक्ष स्वास्थ्य सेवा लिएका छन्। उपचारका लागि टाढाको स्वास्थ्य संस्था पुग्न कठिन अवस्थामा रहेका पीडितका लागि विशेषज्ञ चिकित्सकसहितको टोली प्रभावित क्षेत्रमै पुगेर सेवा दिन थालेपछि उनीहरूलाई ठूलो राहत मिलेको छ।
सर्वस्व गुमाएका पीडितका लागि उपचार खर्च जुटाउनु मात्र होइन, दैनिक सेवन गर्नुपर्ने औषधि किन्नु पनि चुनौती बनेको छ। कारञ्जितको अवस्था त्यसैको एउटा उदाहरण हो। पेट भर्न राहतमा पाएको चाउचाउसमेत बेचेर जीवन जोगाउन आवश्यक औषधि किन्नुपर्ने अवस्थामा पुगेका उनले केएमसीको शिविरबाट उपचारसँगै आवश्यक औषधि निःशुल्क पाए।
कारञ्जितजस्तै अन्य धेरै बिरामीले पनि चिकित्सकको परामर्शअनुसार आवश्यक औषधि निःशुल्क पाएपछि बाढीको पीडाबीच स्वास्थ्य उपचारको चिन्ता केही कम भएको बताएका छन्।
बाढीपीडितका लागि राहत खाद्यान्न र अस्थायी बसोबासमा मात्र सीमित नहुने भन्दै नियमित औषधि सेवन गर्नुपर्ने बिरामीका लागि समयमै औषधि उपलब्ध गराउनु पनि जीवनरक्षाको महत्वपूर्ण आधार भएको स्वास्थ्यकर्मीहरूले बताएका छन्। सुनील शर्माको पहलमा केएमसीले सञ्चालन गरेको शिविरले उपचारसँगै औषधि उपलब्ध गराएर बाढीपीडितका लागि मानवीय सहारा प्रदान गरेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





