सत्य, निष्पक्ष र विश्वसनीय

भोटेकोशी बाढीपीडित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्री शाहको भरोसा : हजुरहरूसँग राज्य र सरकार छ

न्युज डेस्क
२०८३ भाद्र २१, आईतवार ०१:४९

काठमाडौं, २१ भदौ
प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीबाट प्रभावित ज्येष्ठ नागरिकहरूलाई सरकारले अभिभावक बनेर साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत नियमित ब्रिफिङ गर्दै प्रधानमन्त्री शाहले नुवाकोटको बेत्रावतीबाट ६४ वर्षीया चन्द्रीका श्रेष्ठको जीवितै उद्धार भएको खबरले सिङ्गो देशमा आशा जगाएको बताए। उनले सुरक्षाकर्मीहरू अझै पनि जोखिम मोलेर खोज तथा उद्धारमा सक्रिय रहेको उल्लेख गरे।
बाढीको त्रासदीपूर्ण क्षणमा नातिनातिनालाई च्यापेर सुरक्षित स्थानतर्फ दौडिएका हजुरबुबा–हजुरआमाको साहसको स्मरण गर्दै शाहले जीवनभरको कमाइ, घरआँगन तथा आफन्त गुमाउनुपरेका नागरिकप्रति समवेदना व्यक्त गरे।
आफ्नै आँखाअगाडि सन्तान बगेको देख्नुपरेका तथा जीवनसाथी गुमाएका ज्येष्ठ नागरिकको पीडा राज्यले गहिरोसँग महसुस गरेको उनको भनाइ छ।
बाढीका कारण नुवाकोटको विदुरस्थित देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान क्षतिग्रस्त भएपछि त्यहाँ आश्रित ज्येष्ठ नागरिकहरूको सुरक्षित व्यवस्थापन गरिएको प्रधानमन्त्रीले जानकारी दिए। प्रतिष्ठानका ७ जना ज्येष्ठ नागरिकलाई काठमाडौंको म्हैपीस्थित नेपाल सिनियर केयर र १७ जनालाई नुवाकोटको इनारपाटीस्थित कृष्णप्रणामी मन्दिरमा अल्पकालीन आश्रय दिइएको छ।
उनीहरूका लागि ह्विलचेयर, वाकर, नियमित स्वास्थ्य परीक्षण तथा मनोसामाजिक परामर्श सेवाको व्यवस्था गरिएको उनले बताए। अस्थायी शिविरमा बसाइलाई सकेसम्म छोटो बनाएर छिट्टै सुरक्षित र स्थायी बसोबासको प्रबन्ध मिलाइने प्रधानमन्त्री शाहको भनाइ छ।
‘हजुरहरूले जीवनमा अनेक आँधीबेहरी पार गर्नुभएको छ, भोटेकोशीले ओत र जायजेथा बगाए पनि स्वाभिमान र अनुभव बगाउन सकेको छैन,’ प्रधानमन्त्री शाहले भने, ‘हजुरहरू यो देशको जग हुनुहुन्छ, मन दह्रो बनाइदिनुहोस्। हजुरहरूसँग यो राज्य छ, यो सरकार छ।’
आफन्त गुमाएर पीडामा रहेका नागरिकको आक्रोशलाई स्वाभाविक रूपमा लिनुपर्ने उल्लेख गर्दै उनले त्यो आक्रोश असह्य पीडा व्यक्त गर्ने माध्यम भएको बताए।
शोक र पीडामा रहेका मानिसमाथि अनावश्यक टिप्पणी, खिसीट्युरी तथा थप पीडा दिने गतिविधि गर्नेहरूप्रति सरकार निर्मम रूपमा प्रस्तुत हुने चेतावनीसमेत प्रधानमन्त्रीले दिए।
दलदल र खण्डहरबीच ज्यान जोखिममा राखेर खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मीहरूको प्रशंसा गर्दै शाहले उद्धारकर्मीहरूको आत्मबल बढाउनु सबै नागरिकको कर्तव्य भएको बताए। उनले सरकारमाथि भरोसा राख्न सम्पूर्ण नागरिकलाई अपिलसमेत गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?