सत्य, निष्पक्ष र विश्वसनीय

राज्यका निकाय राजनीतिक र प्रशासनिक क्षेत्रमा अन्योल देखियो : प्रचण्ड

न्युज डेस्क
२०८३ भाद्र २१, आईतवार ०४:३१

काठमाडौं, २१ भदौ
नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राजनीति, कर्मचारीतन्त्र तथा राज्यका सम्पूर्ण निकायहरू अन्योलको अवस्थाबाट गुज्रिरहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पछिल्लो राजनीतिक तथा प्रशासनिक अवस्था सकारात्मक नरहेको टिप्पणी गरे।
संयोजक दाहालले सरकारका राम्रा काममा आफ्नो पार्टीको सहयोग र समर्थन रहने, तर गलत कामको भने आलोचना, विरोध तथा खबरदारी गर्ने नीति रहेको स्पष्ट पारे।
‘अहिले कता-कता नेपाली राजनीति पनि, नेपाली कर्मचारीतन्त्र पनि र सबै राज्यका निकायहरू अलि बढी अन्योलमा भएको देखिन्छ,’ उनले भने, ‘सुरुदेखि हामीले भनेका छौं, राम्रो गर्नुस् सहयोग हुन्छ, समर्थन हुन्छ। नराम्रो गर्दा आलोचना हुन्छ, टिप्पणी हुन्छ, विरोध हुन्छ। हरेक क्षेत्रमा हाम्रो त्यही भनाइ रहिआएको छ, तर अहिले लक्षण राम्रो देखिएको छैन।’
पूर्वप्रधानमन्त्री दाहालले पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र, नागरिक समाज तथा सबै सचेत नागरिकलाई राष्ट्र र जनताप्रति थप गम्भीर र उत्तरदायी बन्न आग्रह गरे।
मुलुक अन्योलतर्फ धकेलिन सक्ने अवस्था देखिएको भन्दै उनले समाजका सबै सचेत पक्ष एकजुट भएर राष्ट्रहितमा केन्द्रित हुनुपर्ने बताए।
उनले देशको स्वतन्त्रता, स्वाधीनता तथा भौगोलिक अखण्डतालाई सर्वोपरी राख्नुपर्नेमा जोड दिँदै लामो संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्रको रक्षाका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखे।
‘सबभन्दा ठूलो कुरा राष्ट्र नै हो। राजनीतिक नेतृत्व, कर्मचारी, नागरिक समाज र सबै सचेत नागरिकहरूले फेरि राष्ट्र, जनता र आफ्नो स्वाधीनताप्रति अझ गम्भीर भएर काम गर्नुपर्ने आवश्यकता छ,’ दाहालले भने, ‘हामी सबैले राष्ट्रको स्वाधीनता, देशको अखण्डता र लामो संघर्षबाट प्राप्त गरेको स्वतन्त्रता तथा लोकतन्त्रको रक्षामा केन्द्रित हुनैपर्छ।’

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?