सत्य, निष्पक्ष र विश्वसनीय

महोत्तरीमा अवैध तस्करीको ठूलो प्रयास विफल, १२ सय थान एप्पल एयरपड्स नियन्त्रणमा

न्युज डेस्क
२०८३ भाद्र २१, आईतवार ०७:३०

महोत्तरी, २१ भदौ
महोत्तरीको सोनमा गाउँपालिका–६, मगरथानाबाट सशस्त्र प्रहरीले करिब २ करोड ४० लाख रुपैयाँ बराबरका १२ सय थान एप्पल एयरपड्स बरामद गरेको छ।
शनिबार बिहान भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले एयरपड्स बरामद गरेको हो।
सशस्त्र प्रहरी नायब महानिरीक्षक एवं प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण महोत्तरीका सशस्त्र प्रहरी निरीक्षक राजेन्द्रबहादुर कार्की, सीमा सुरक्षा गुल्म रघुनाथपुरका सशस्त्र प्रहरी नायब उपरीक्षक गणेशदत्त पाण्डे र बोर्डर आउट पोस्ट खैरवनीका सशस्त्र प्रहरी निरीक्षक कृष्ण गिरीको टोलीले संयुक्त रूपमा एयरपड्स बरामद गरेको हो।
गस्तीमा रहेको सशस्त्र प्रहरी टोलीलाई देखेपछि एयरपड्स ल्याउँदै गरेका व्यक्ति सामान छाडेर फरार भएका थिए। प्रहरीले फरार व्यक्तिको खोजी भइरहेको जनाएको छ।
बरामद गरिएका एयरपड्स आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?