सत्य, निष्पक्ष र विश्वसनीय

रजत जयन्तीको अवसरमा कवेष्ट फर्मास्युटिकल्सद्वारा बृहत् रक्तदान

न्युज डेस्क
२०८३ भाद्र २४, बुधबार १७:३५

वीरगञ्ज, २४ भदौ
वीरगञ्ज कवेष्ट फर्मास्युटिकल्स प्रालिले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव तथा विश्वकर्मा पूजा २०८३ को अवसरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ।

नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र वीरगञ्जको प्राविधिक सहयोगमा कम्पनीको छातापिपरास्थित कारखाना परिसरमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरेको कार्यक्रममा कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा १०७ पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ।

कम्पनीको २५औँ वर्ष प्रवेश अर्थात् रजत जयन्ती तथा विश्वकर्मा पूजाको अवसरलाई सामाजिक सेवामार्फत थप अर्थपूर्ण बनाउने र स्थानीय क्षेत्रमा हुने रगतको आवश्यकता पूरा गर्न सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीका प्रतिनिधिहरूले बताएका छन्।

संकलित रगतले बिरामीको उपचार तथा जीवनरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने भन्दै रक्तसञ्चार केन्द्र वीरगञ्जले आयोजक र रक्तदाताहरूप्रति आभार व्यक्त गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?