क्यासिनो प्रकरणपछि पोखरिया प्रहरीको नेतृत्व फेरियो, निरीक्षक अर्याललाई जिम्मेवारी
वीरगञ्ज, २५ भदौ
क्यासिनो प्रकरणपछि इलाका प्रहरी कार्यालय पोखरियाको नेतृत्व परिवर्तन गरिएको छ। तत्कालीन प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेल निलम्बनमा परेपछि उनको स्थानमा प्रहरी निरीक्षक भानुभक्त अर्याललाई काज सरुवा गरी पोखरिया पठाइएको हो।
अर्याल यसअघि इलाका प्रहरी कार्यालय गजुरीमा कार्यरत थिए। प्रहरी सेवामा लामो अनुभव भएका अर्यालले सहायक प्रहरी निरीक्षक (असई) बाट सेवा प्रवेश गरेका हुन्। उनले प्रहरी सेवाका विभिन्न जिम्मेवारी सम्हाल्नुका साथै मुद्दा फाँट र विभिन्न प्रहरी कार्यालयको कमान्डसमेत सम्हालिसकेका छन्।
अनुभव र कार्यक्षमताका आधारमा संवेदनशील मानिने पोखरिया प्रहरीको जिम्मेवारी उनलाई दिइएको बताइएको छ।
पोखरिया प्रहरीको नेतृत्व परिवर्तन वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रालि (क्यासिनो) मा प्रहरीले छापा हानेपछि विकसित घटनाक्रमसँगै भएको हो।
क्यासिनोमा छापा मार्ने क्रममा प्रहरी निरीक्षक पौडेलसहित सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव, चन्दन सहनी, वीरगञ्ज–११ का ओमप्रकाश बैठा तथा क्यासिनोका कर्मचारीहरू विजयकुमार पटेल, दिनेशकुमार पटेल, जयदेव साह र प्रदेशी साह पक्राउ परेका थिए।
पक्राउ परेकामाथि अनुसन्धानका लागि जिल्ला अदालत पर्साले सोमबार ६ दिनको म्याद थप गरेको थियो। क्यासिनो प्रकरणमा प्रहरी निरीक्षक पौडेलको नाम जोडिएपछि उनी निलम्बनमा परेका हुन्।
घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान अघि बढाइरहेको छ। अनुसन्धान जारी रहेकै अवस्थामा पोखरियाको नेतृत्व फेरिएपछि नयाँ प्रमुखका रूपमा अर्यालको आगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
ग्रामीण तथा सीमावर्ती क्षेत्र समेटिएको पोखरियामा सीमा अपराध, तस्करी, लागूऔषध कारोबार तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रण गर्नु नयाँ प्रहरी प्रमुख अर्यालका प्रमुख चुनौती हुनेछन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





