हत्या गरी फरार अभियुक्त ३ वर्षपछि पक्राउ
वीरगंज, २२ जेठ ।
बारामा एक व्यक्तिलाई गोली हानी हत्या गरी ३ वर्षदेखि फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य, मोतिहारी जिल्ला, दरपा ग्राम पञ्चायत तिनकोनी बस्ने ३० वर्षीय रंजित मुखिया रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, वि.सं. २०८० साल बैशाख ९ गते बेलुकी १७ः५५ बजेको समयमा बाराको पचरौता नगरपालिका वडा नं. ६ पकडियास्थित लक्ष्मिनिया पोखरीको डिलमा अजित कुमार सिंहलाई गोली हानी हत्या गरिएको थियो । उक्त वारदातमा निजकी श्रीमती सोनम सहनी, रंजित मुखिया र रूपेश कुमार महतो लगायतको संलग्नता रहेको र घटनापश्चात उनीहरू फरार भएका थिए ।

फरार रहेका मुखियालाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले करीब ३ वर्षपछि यही जेठ २० गते बाराको पचरौता नगरपालिका वडा नं. ४ बेल्दारीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका मुखियालाई सम्मानित जिल्ला अदालत बारामा पेस गरिएकोमा अदालतको आदेशले आजै (जेठ २२ गते) पुर्पक्षका लागि कारागार कार्यालय वीरगंज, पर्साको थुनामा पठाइएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?



