फ्लाई दुबईलाई पोखरा-दुबई सिधा उडानको अनुमति
पोखरा, २७ जेठ
फ्लाई दुबईले आगामी सेप्टेम्बर २३ देखि पोखरा–दुबई रुटमा दैनिक सिधा उडान सुरु गर्ने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई उडान अनुमति प्रदान गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए।
उडान अनुमति दिनुअघि फ्लाई दुबईको टोलीले विमानस्थलको सुरक्षा तथा सञ्चालन स्थितिबारे विस्तृत निरीक्षण गरेको थियो।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यो उडान पोखराको पर्यटन, आर्थिक गतिविधि र अन्तर्राष्ट्रिय पहिचानका लागि ऐतिहासिक अवसर भएको बताए। यस सिधा उडानले पोखरालाई मध्यपूर्व, युरोप र अफ्रिकासँग सहजै जोड्ने उनको विश्वास छ।
सन् २०२३ जनवरी १ मा उद्घाटन भएको, झन्डै रु २२ अर्ब चिनियाँ ऋण लगानीमा निर्मित यो विमानस्थल हालसम्म आन्तरिक उडानमा मात्र सीमित छ।
यसअघि हिमालय एयरलाइन्सले पोखरा-ल्हासा व्यावसायिक उडान गरे पनि त्यो लामो समय टिक्न सकेन। नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुने अपेक्षामा पोखराको पर्यटन क्षेत्रमा खर्बौँको लगानी थपेका पर्यटन व्यवसायी फ्लाई दुबईको यस घोषणासँगै उत्साहित भएका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




