सत्य, निष्पक्ष र विश्वसनीय

बजेट ‘फुकिएको बेलुन’ जस्तै, कार्यान्वयन हुनेमा विश्वास छैन : सांसद अमरेशकुमार सिंह

न्युज डेस्क
२०८३ जेष्ठ २८, बिहीबार १३:३७

काठमाडौँ , २८ जेठ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत गरेको बजेट कार्यान्वयन हुनेमा आफूलाई विश्वास नभएको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद सिंहले दक्षिण एसियाली राजनीतिको विद्यार्थीसमेत रहेको उल्लेख गर्दै जीडीपीको ३२–३३ प्रतिशत बराबरको बजेट विश्वका कुनै पनि मुलुकमा नबन्ने दाबी गरे। उनले वर्तमान बजेटलाई ‘फुकिएको बेलुन’ को संज्ञा दिँदै यसको कार्यान्वयनमा शंका व्यक्त गरे।

“फुकिएको बेलुन लामो समय टिक्दैन, त्यसकारण मलाई विश्वास छैन कि यो बजेट कार्यान्वयन हुन्छ,” उनले व्यङ्ग्यात्मक शैलीमा भने, “यदि बजेट पूर्ण रूपमा कार्यान्वयन हुने हो भने भोलिपल्टै देश सिंगापुर, जापान वा दुबई जस्तै बन्छ।”

बजेटका लक्ष्य र कार्यक्रमहरू यथार्थपरक नभएको आरोप लगाउँदै उनले सरकारले जनतालाई आकर्षित गर्ने उद्देश्यले ठूलो आकारको बजेट ल्याएको टिप्पणी गरे।

सिंहले आफ्नो धारणा राखिरहेका बेला समय सीमा सकिएपछि सभामुखले उनको माइक बन्द गरिदिएका थिए। त्यसपछि उनी रोष्ट्रमबाट फर्केर आफ्नो सिटमा बसेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?