सत्य, निष्पक्ष र विश्वसनीय

विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग

न्युज डेस्क
२०८३ जेष्ठ २८, बिहीबार १०:३४

बिरगंज, २८ जेठ
फुटबलमा अक्सर मार्मिक संयोगहरू दोहोरिरहन्छन् । दक्षिण अफ्रिकी कप्तान रनवेन विलियम्स यसपटक यस्तै संयोगसहित विश्वकपको मैदानमा उत्रिँदैछन् ।

सन् २०१० मा दक्षिण अफ्रिका आफैँले आयोजना गरेको विश्वकपको उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका नै आमनेसामने भएका थिए । यसपटक पनि यस्तै संयोग परेको छ । सन् २०१० मा यी दुई टोलीबीचको खेल १-१ को बराबरीमा सकिएको थियो ।

म्यामेलोडी सनडाउनका प्रतिभाशाली गोलकिपर विलियम्ससँग सन् २०१० को स्मरण अझै ताजै छ । ”संयोगहरू दोहोरिनु नै फुटबलको सुन्दरता हो । सन् २०१० को क्षण मलाई अझै ताजै छ । पूरा देश टोलीको समर्थनमा थियो । उद्घाटन खेल १-१ मा टुंगिएको थियो ।”

त्यसबखत विलिम्यस १८ वर्षका थिए । २०१० मा उनले दु:खद क्षण पनि व्यहोरेका थिए । विश्वकपको दुई महिनाअघि उनका दाजु कार दुर्घटनामा बितेका थिए । दाजुको निधनपछि उनले फुटबल छोड्ने सोच समेत बनाएका थिए । विलियम्यसको त्यो सोच सत्यतामा परिणत नभएकै कारण आज उनले मुलुकको कप्तानी गरिरहेका छन् ।

आफ्ना दाजुको आशा र भरोसाका कारण सोच आए पनि फुटबल नत्यागेको उनी बताउँछन् । ”म प्रति दाजुको ठूलो आशा र भरोसा थियो । विश्वकपको उद्घाटन खेलमा मैले आफ्नो देशको नेतृत्व गर्दै मैदानमा प्रवेश गर्दैछु । यसको खुसी म शब्दमा व्यक्त नै गर्न सक्दिँन,” उनी भन्छन् ।

यो खुसीले उनलाई निकै रोमाञ्चित बनाउँछ । विश्वकपमा उनलाई दुई खेल सबैभन्दा महत्त्वपूर्ण लाग्छन् । पहिलो उद्घाटन खेल र अर्को फाइनल । बफाना बफाना उपनामले परिचित दक्षिण अफ्रिकी टोली कप्तानलाई महत्त्वपूर्ण लाग्ने उद्घाटन खेलमा उत्रिँदैछ । ”हामीलाई थाहा छ यसपटक दबाब निकै हुनेछ । हाम्रा लागि खेल सजिलो पक्कै हुनेछैन । उनीहरूको साथमा पूरा देशको समेत समर्थन हुनेछ,” विलिम्यस भन्छन् ।

पारिवारिक साथ र प्रशिक्षक ब्रुसको प्रभाव

विलियम्सले आफ्ना दाजुको कमी सधैँ महसुस गरे । परिवारले भने उनलाई साथ दिन कुनै कमी गरेन । उनलाई प्रशिक्षक ह्युगो ब्रुसले पनि राम्रै साथ थिए । ब्रुस तिनै व्यक्ति हुन् जसले सन् २०१७ मा क्यामरूनलाई अफ्रिकन कप अफ नेशन्सको उपाधि दिलाएका थिए । सन् २०२१ मा दक्षिण अफ्रिकी टोली निकै खराब लयबाट गुज्रिरहेका बेला ब्रुस टोलीको कमाण्ड सम्हाल्दै आएका थिए । आउने वित्तिकै उनले विलियम्सलाई कप्तान बनाए । ”जब प्रशिक्षक ब्रुसले मलाई कप्तान घोषणा गर्नुभयो । मेरो परिवारमा निकै खुसी भयो । म अहिले विश्वकपमा कप्तानी सम्हालिरहँदा मेरो परिवारको खुसी तेब्बर भइरहेको होला,” विलियम्स भन्छन् ।

ब्रुसकै नेतृत्वमा दक्षिण अफ्रिकाले २०२३ को एफकनमा तेस्रो स्थान हासिल गर्‍यो । यस्तै, विश्वकपको छनौट चरण पार गर्दै चौथोपटक विश्वकपमा स्थान पक्का गर्‍यो । विलियम्सका अनुसार ब्रुसले टोलीलाई एकताबद्ध बनाएका छन् । दक्षिण अफ्रिकाप्रति समर्थकको विश्वास र प्रेम फर्काएका छन् । ”दुई तीन वर्षअघि हामी दर्शकहरूलाई खेल हेरिदिनुस् भनेर आग्रह गर्थ्यौँ । ब्रुसले समर्थकहरूको विश्वासका लागि प्रदर्शन र नतिजा सँगसँगै सुधार हुनुपर्छ भन्नुहुन्थ्यो । अहिले हामीले राम्रो नतिजा निकाल्न थाल्यौँ । समर्थकहरू बफाना बफानाको खेल हेर्न आतुर छन्,” विलियम्स भन्छन् ।

दक्षिण अफ्रिकाले छनौट चरणमा नाइजेरियालाई पछि पार्दै १० मध्ये ५ खेल जितेर विश्वकपमा स्थान बनाएको हो। भर्खरै सम्पन्न अफकनमा उनीहरू अन्तिम १६ बाटै बाहिरिएका थिए । गत मार्चमा घरेलु मैदानमा पानामासँग २-१ को पराजय व्यहोरेका थिए। त्यसैले समूह ‘ए’ मा मेक्सिको, चेकिया र दक्षिण कोरियाको सामना गर्न लागेका कप्तान विलियम्स धेरै उत्साहित भइहाल्ने पक्षमा छैनन्।

“मलाई लाग्छ हामी हाम्रा सम्भावनाहरूबारे यथार्थवादी हुन जरुरी छ। सबैभन्दा महत्त्वपूर्ण कुरा त समूह चरण पार गर्नु नै हो,” विलियम्सले भने। “

दक्षिण अफ्रिकाले सन् २००२ र २०१० को विश्वकपमा समूह चरणमा ४-४ अंक जोडे पनि उनीहरू कहिल्यै दोस्रो चरणमा पुग्न सकेका छैनन्। त्यसैले, क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा आयोजित यस बृहत् विश्वकपको अन्तिम ३२ मा पुग्नु मात्र पनि उनीहरूका लागि एउटा ठुलो उपलब्धि हुनेछ ।

विलियम्सलाई आफ्नो टोलीको कप्तानी गर्न निकै मनपर्छ । उनले आफ्नो नेतृत्व शैलीलाई टोलीमा “स्थिरता” ल्याउने माध्यमका रूपमा व्याख्या गर्छन्। गोलकिपरहरू मैदानको कोलाहलबाट पर रहने भएकाले कप्तानी राम्रो गर्न नसक्ने परम्परागत बुझाइको उनी खण्डनन् गर्छन् । ”मैले सानै छँदा स्थानीय लिग खेल्दादेखि नै यो काम गर्दै आएको छु। मलाई लाग्छ म यसैका लागि जन्मिएको हुँ। म कप्तानी र यसले ल्याउने जिम्मेवारीलाई निकै सम्मान गर्छु,” उनी भन्छन् ।

यदि बाफाना बाफाना नकआउट चरणमा पुग्यो भने पेनाल्टी बचाउने उनको कौशलको कारण उनी केन्द्रबिन्दुमा पर्नसक्छन् । सन् २०२३ को अफकन क्वार्टर-फाइनललाई सम्झनै पर्छ, जहाँ उनले केप भर्डे विरुद्धको पेनाल्टी सुटआउटमा ५ मध्ये ४ वटा पेनाल्टी रोकेका थिए।

त्यस्तै, डीआर कङ्गो विरुद्धको तेस्रो स्थानको खेलमा पनि उनले थप दुई पेनाल्टी बचाएका थिए। यही प्रदर्शनका कारण उनले सन् २०२४ को ‘अफ्रिकन गोलकिपर अफ द इयर’ को अवार्ड जिते र बलोन डी’ओर समारोहमा ‘याशिन अवार्ड’ का लागि समेत मनोनीत भए।

विलियम्स भन्छन्, “म यसको आनन्द लिन्छु। पेनाल्टीमा गोलकिपरलाई कुनै दबाब हुँदैन। पेनाल्टी सुटआउटको कुरा आउँछ, म खेलाडीहरूको प्रवृत्ति (ट्रेन्ड) बुझ्ने प्रयास गर्छु। कहिलेकाहीँ चाहिँ मैदानमा तत्काल आउने भावनाले नै काम गर्छ।”

विलियम्सका अनुसार पेनाल्टी गोलकिपरका लागि “चम्किने एउटा अवसर” हो। यस सन्दर्भमा उनी अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजको प्रभावलाई औँल्याउँछन् ।जसको उत्कृष्ट पेनाल्टी बचाउले सन् २०२२ को विश्वकप फाइनलमा अर्जेन्टिनालाई फ्रान्स विरुद्ध जित दिलाएको थियो।

मार्टिनेजलाई त्यो खेलको “नायक” मानिए पनि कतिपयले उनको व्यवहारको आलोचना गरेका थिए। तर विलियम्सका अनुसार गोलकिपरहरू अन्य फुटबलरभन्दा अलि फरक स्वभावकै हुनुपर्छ । “तपाईं फरक हुनैपर्छ। कसैको खुट्टाको मुन्तिर डाइभ हान्नु, कुन गतिमा बल आइरहेको छ भन्ने थाहा नपाई त्यसलाई रोक्नु—यो सामान्य कुरा होइन। तपाईंमा अलिकति ‘पागलपन’ हुन जरुरी छ। धेरैजसो गोलकिपरहरू टोलीका सबैभन्दा ठट्टा गर्ने व्यक्ति हुन्छन,” उनले भने ।

जब विलियम्सले मेक्सिको सिटीको ‘एस्टाडियो एस्टेका’ रंगशालामा ७३,००० दर्शकका सामु आफ्नो टोलीलाई मैदानमा डोर्‍याउनेछन्, तब विश्वकपको यस उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई एक अप्रत्याशित जित दिलाउन उनले आफ्नो जीवनका सम्पूर्ण अनुभव र कौशललाई प्रयोग गर्नुपर्नेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?