सत्य, निष्पक्ष र विश्वसनीय

९.२४० ग्राम ब्राउन सुगरसहित कपिलवस्तुमा एक महिला पक्राउ

न्युज डेस्क
२०८३ कार्तिक १०, सोमबार ०८:४७
९.२४० ग्राम ब्राउन सुगरसहित कपिलवस्तुमा एक महिला पक्राउ

कपिलवस्तु, ९ कार्तिक
कपिलवस्तुको शिवराज नगरपालिका–२, हल्लानगरबाट लागूऔषध ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा स्थानीय २३ वर्षीया अस्मिता बोहोरा रहेकी छन्।

आफ्नै घरमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले बोहोराको घरमा खानतलासी गरेको थियो। सो क्रममा कोठाको दराजमाथि राखिएको कालो रङको लेडिज ब्यागभित्र खैरो रङको धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। उक्त पदार्थ ब्राउन सुगरजस्तो देखिने ९ ग्राम २४० मिलिग्राम रहेको छ।

प्रहरीले लागूऔषध तौल गर्न प्रयोग हुने एक थान डिजिटल तौल मेसिनसमेत बरामद गरेको छ। पक्राउ परेकी बोहोरालाई वडा प्रहरी कार्यालय चन्द्रौटामा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?