वीरगञ्जको क्यासिनोमा नेपालीलाई प्रवेश गराएर जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ
वीरगञ्ज, ४ कात्तिक
पर्साको वीरगञ्ज महानगरपालिका–१४, गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रालि (क्यासिनो) मा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार कात्तिक ३ गते राति करिब ११ः३० बजे क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि खटिएको प्रहरी टोलीले कारबाही गरेको हो।

प्रहरीले क्यासिनोभित्र जुवा खेल्ने तथा खेलाउने कार्य भइरहेको अवस्थामा पाँच जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको जनाएको छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार नियन्त्रणमा पर्नेमा बाराको पचरौता नगरपालिका–४ का ४८ वर्षीय रामचन्द्र साह, प्रसौनी गाउँपालिका–८ का ४९ वर्षीय अच्छेलाल प्रसाद र प्रसौनी गाउँपालिका–१ का ४७ वर्षीय सुवास कुमार रहेका छन्।
त्यस्तै, रौतहटको बौधीमाई नगरपालिका–१ का ५० वर्षीय सुमेश्वरनाथ प्रसाद र बाराको परवानीपुर गाउँपालिका–५ का ३५ वर्षीय सुनिल पटेल पनि नियन्त्रणमा परेका छन्। पक्राउ परेकामध्ये चार जना बारा र एक जना रौतहटका बासिन्दा हुन्।
जिल्ला प्रहरी कार्यालय पर्साले कात्तिक ४ गते जारी गरेको विज्ञप्तिमा पाँचै जनालाई जुवा खेल्ने तथा खेलाउने कार्यसँग सम्बन्धित आरोपमा नियन्त्रणमा लिइएको उल्लेख गरेको छ। तर, उनीहरूमध्ये कसले जुवा खेलेको र कसले खेलाएको भन्ने विषयमा प्रहरीले छुट्टाछुट्टै विवरण सार्वजनिक गरेको छैन।
त्यसैगरी, क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराउने कार्यमा कसको संलग्नता थियो भन्ने विषय पनि खुल्न बाँकी छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रहरीले घटनासँग सम्बन्धित तास र विभिन्न अङ्क उल्लेख भएका क्यासिनो चिप्सका तस्बिरसमेत सार्वजनिक गरेको छ। यद्यपि, बरामद सामग्रीको परिमाण, चिप्सको कुल मूल्य तथा नगद बरामद भए–नभएकोबारे विज्ञप्तिमा उल्लेख छैन।
जिल्ला प्रहरी कार्यालय पर्साका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईद्वारा जारी विज्ञप्तिअनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





