ओमान भ्रमणमा नेपालको उत्कृष्ट प्रदर्शन, ३० अङ्कसहित छैटौँ स्थानमा रहँदै स्वदेश फर्कियो टोली
काठमाडौं, ४ कार्तिक
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा आयोजित त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली मङ्गलबार बेलुकी स्वदेश फर्किएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का केन्द्रीय सदस्य राजेश महर्जन, खेमराज अवस्थीलगायतका प्रतिनिधिहरूले स्वागत गरेका थिए।

ओमान र क्यानडा सहभागी उक्त शृङ्खलामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै चारमध्ये तीन खेलमा जित हासिल गरेको थियो। घरेलु टोली ओमानविरुद्धका दुवै खेलमा जित निकालेको नेपालले क्यानडाविरुद्ध भने एक खेल जित्दा अर्को खेलमा पराजय बेहोरेको थियो।
शृङ्खलामा तीन जित निकालेसँगै नेपालले लिग–२ को यात्रा ३० अङ्कसहित छैटौँ स्थानमा रहेर पूरा गरेको छ। लिग–२ का सबै ३६ खेल खेलेको नेपालका लागि छैटौँ स्थानमा रहनु महत्त्वपूर्ण उपलब्धि बनेको छ। एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता कायम राख्ने लक्ष्यका दृष्टिले पनि नेपालको यो नतिजा अर्थपूर्ण रहेको छ।
ओमान भ्रमणमा सन्तोषजनक प्रदर्शन गरेर स्वदेश फर्किएको नेपाली टोली अब बडादसैँको टीकापछि नेपाल प्रिमियर लिग (एनपीएल) को तयारीमा जुट्नेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





