‘ढिलो भयो, तर न्याय भयो’ भन्दै राजेशमान सिंहको प्रतिक्रिया
वीरगञ्ज, २९ भदौ
राजेशमान सिंहले आफूविरुद्ध लगाइएको झुट्टा मुद्दा र निलम्बनसम्बन्धी विषयमा अदालतबाट न्याय प्राप्त भएको भन्दै खुसी व्यक्त गरेका छन्।
सिंहले सामाजिक सञ्जालमार्फत ‘देर है पर अंधेर नही’ भन्ने हिन्दी कहावत उल्लेख गर्दै अन्ततः न्यायको जित भएको बताएका हुन्। कठिन र पीडादायी समयमा आफू र आफ्नो परिवारले धैर्य, आत्मविश्वास तथा सत्यप्रतिको विश्वासका साथ समय बिताएको उनले उल्लेख गरेका छन्।

सम्मानित न्यायालयबाट प्राप्त निर्णयले सत्य कहिल्यै नहार्ने आफ्नो विश्वास अझ बलियो बनाएको सिंहको भनाइ छ। उनले कठिन परिस्थितिमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने आफन्त, साथीभाइ, शुभचिन्तक तथा न्यायप्रेमी सबैप्रति आभार व्यक्त गरेका छन्।
‘यो कठिन यात्रामा तपाईंहरूले दिनुभएको साथ र विश्वास म कहिल्यै भुल्ने छैन,’ सिंहले भनेका छन्, ‘सत्यको बाटो कठिन हुन सक्छ, तर अन्ततः सत्यकै विजय हुन्छ। ढिलो भयो, तर न्याय भयो।’
सिंहले आफूलाई कठिन परिस्थितिमा साथ दिने सबैको सहयोगलाई ऊर्जाका रूपमा लिएको समेत बताएका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





