वीरगञ्जमा ‘अक्षरारम्भ कप २०८३’ क्रिकेट प्रतियोगिता सुरु
नगर प्रमुख सिंहद्वारा उद्घाटन, १६ विद्यालयका विद्यार्थी खेलाडी सहभागी
वीरगञ्ज, १२ कार्तिक
विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै खेलकुदमा प्रोत्साहित गर्ने उद्देश्यले वीरगञ्जमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता ‘अक्षरारम्भ कप २०८३’ बिहीबारदेखि सुरु भएको छ।

वीरगञ्जस्थित टीबी शाह क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले गरेका हुन्। सनलाइट सेकेन्डरी स्कुल, विद्यासदन सेकेन्डरी स्कुल र न्यु वेभ एकेडेमीको संयुक्त आयोजनामा सञ्चालन भएको प्रतियोगितामा १६ विद्यालयका विद्यार्थी खेलाडी सहभागी छन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख सिंहले विद्यार्थीको शैक्षिक विकाससँगै अतिरिक्त क्रियाकलाप र खेलकुदलाई पनि विद्यालयले प्राथमिकता दिनुपर्ने बताए। उनले खेलकुदले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै खेलमैदानको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताए।
‘यो हाम्रो सम्पत्ति हो, यसको संरक्षण गर्ने दायित्व पनि हामी सबैको हो,’ सिंहले भने, ‘म यहाँको अभिभावकका रूपमा रहेको छु। खेलमैदानको संरक्षण र व्यवस्थापनका लागि स्थानीय नागरिक तथा अगुवाहरूको सहयोग आवश्यक छ।’
उनले प्रतियोगिता सञ्चालन हुने समयमा मात्रै नभई अन्य समयमा पनि खेलमैदानको रेखदेख र संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए। खेलकुदको विकासका लागि स्थानीय तह, विद्यालय र समुदायबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा पर्सा क्रिकेट संघका अध्यक्ष मनिसिंहले टीबी शाह क्रिकेट मैदानलाई व्यवस्थित बनाउन नगर प्रमुख सिंहको महत्त्वपूर्ण भूमिका रहेको बताए। उनले मैदानको संरक्षण र रेखदेखमा आफूहरू सक्रिय रहेको उल्लेख गर्दै यसको व्यवस्थापनमा सबै पक्षको सहयोग आवश्यक रहेको बताए।
सनलाइट कलेजका प्रिन्सिपल आलोक चौरसियाले विद्यार्थीको शारीरिक स्वास्थ्य, स्फूर्ति र मानसिक सन्तुलन कायम राख्न खेलकुद महत्त्वपूर्ण रहेको बताए। गुणस्तरीय शिक्षासँगै खेलकुदलाई पनि प्राथमिकता दिनुपर्ने आवश्यकतालाई ध्यानमा राखेर प्रतियोगिता आयोजना गरिएको उनले जानकारी दिए।
प्रतियोगिताको उद्घाटन खेलमा विद्यासदन र मिनी ल्यान्डबीच प्रतिस्पर्धा भएको छ। प्रतियोगितामा डीपीएस, पिस जोन, लिटिल फ्लावर, कादम्बरी एकेडेमी, सनलाइट, जीएचपी, ज्ञानोदय, जीवन ज्योति, ओम नेसनल, लिटिल एन्जेल्स, न्यु वेभ, सूर्योदय, माउन्ट मकालु र मनकामना सेकेन्डरी स्कुललगायत विद्यालयका विद्यार्थी सहभागी छन्।
यसैबीच, प्रतियोगिताको उद्घाटन समारोहमा आयोजित मार्चपासमा मनकामना माध्यमिक विद्यालय प्रथम, न्यु वेभ माध्यमिक विद्यालय दोस्रो र जीएचपी तेस्रो भएका छन्।
उद्घाटन समारोहमा प्याब्सन मधेश प्रदेशका उपाध्यक्ष एवं मनकामना माध्यमिक विद्यालयका प्रिन्सिपल पुरन प्रधान, प्याब्सन मधेश प्रदेशका सल्लाहकार लालबाबु पटेल, मनि पाख्रिन, प्याब्सन महानगर सचिव एवं सनसाइन बोर्डिङ स्कुलका सञ्चालक अमित आलोक, सञ्चालक संगीता प्रधान, कादम्बरी स्कुलका प्रिन्सिपल राजेन्द्र आचार्य, एनप्याब्सन महानगर अध्यक्ष एवं सगरमाथा एकेडेमीका प्रिन्सिपल जियालाल गुप्ता, जीवन ज्योति स्कुलका प्रिन्सिपल शिवजी गुप्तालगायतको उपस्थिति थियो।
कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक, शिक्षिका, विद्यार्थी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। पत्रकार उज्ज्वल घिमिरेले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता न्यु वेभ माध्यमिक विद्यालयका प्रिन्सिपल सुवास प्रधानले गरेका थिए भने विद्यासदन माध्यमिक विद्यालयका प्रिन्सिपल लालबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





