सत्य, निष्पक्ष र विश्वसनीय

पर्साका विभिन्न स्थानबाट २ हजार ९५ लिटर अवैध घरेलु मदिरा बरामद

न्युज डेस्क
२०८३ कार्तिक १३, बिहीबार ०७:५०

वीरगञ्ज, १२ कार्तिक
पर्सा जिल्लाका विभिन्न स्थानबाट प्रहरीले २ हजार ९५ लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी कार्यालयहरूले विशेष अपरेसन सञ्चालन गरी जिल्लाका विभिन्न स्थानबाट उक्त परिमाणको घरेलु मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरीका अनुसार बरामद गरिएको मदिरा कानुनी प्रक्रिया पूरा गरी नष्ट गर्ने प्रक्रियामा रहेको छ।

अवैध रूपमा घरेलु मदिरा उत्पादन तथा बिक्री–वितरण गर्नु कानुनविपरीत हुनुका साथै मापदण्डविपरीत विभिन्न रसायन प्रयोग गरी उत्पादन गरिने मदिराले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने प्रहरीले जनाएको छ।

प्रहरीले अवैध घरेलु मदिराको उत्पादन, बिक्री–वितरण तथा ओसारपसारमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गरेको छ। त्यस्ता गतिविधि भइरहेको सूचना पाएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयको हटलाइन नम्बर १०० मा जानकारी गराउनसमेत प्रहरीले अनुरोध गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी दिएका हुन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?